काठमाडौं- निरन्तर परेको अविरल वर्षाका कारण भेरी नदीमा बाढी आएको छ। नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। नदीमामा आएको बाढीले खतराको तह पार गरेपछि तटीय क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपील गरेको छ।
पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहावले खतराको विन्दु पारगरेपछि उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले हाइअलर्ट जारी गरेको हो। भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।
भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ। खतराको विन्दु भनेको ५ मिटर हो। तर अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५.५० मिटर पुगेको छ।
भेरी नदीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँलगायतका बस्ती जोखिमका बस्ती हुन्।
यहाँ नागरिकहरुलाई नदीमा बाढीको बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान भनिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनकाअनुसार स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर सावधानी अपाउन अपिल गरिएको छ।
स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायतका विपद्हरुबाट मानवीय तथा आर्थिक क्षति हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो।
‘विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्दा तथा राहतका लागि मातहतका निकायलाई तयारीमा अवस्थामा राखेका छौं’ रिजालले भने।
भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी-बबई डाइभर्सन आयोजनाको ड्याम निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख (एसपी) विमल डाँगीले जानकारी दिए।
उनले नदीमा बाढी बढ्ने अलर्ट जारी भएसँगै किनारामा रहेका निर्माण सामग्री सारिरहेको बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation