काठमाडौं- बडादसैँअन्तर्गत आज (मंगलबार) महानवमी पर्व मनाइँदै छ। आजको दिनमा नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ।
घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।
पशुबलि नदिनेले भने आ–आफ्नो कूल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो लगायतको बलि दिने र नरिवल चढाउने गर्छन्। अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ। पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ।
कतिपय शक्तिपीठमा भने महानवमीमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ। महानवमीका दिन कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निसानपूजा पनि गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।
हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि वर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ। हनुमानढोकाको दसैँघर लगायत कतिपय समुदायले महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ-आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाउँछन्।
महानवमीमा धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ। नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो। सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवत लगायत ग्रन्थमा उल्लेख छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो।
यिनी नवदुर्गा गणकी नवौं देवी हुन्। दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation