९ कार्तिक २०८३, आइतबार

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, २७ हजारभन्दा बढीमा सङ्क्रमण

  • १२ असोज २०७९, बुधबार
Image

काठमाडौं- पछिल्लो चौबिस घण्टामा देशभर २ हजार २६ जना डेंगुका नयाँ बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २७ हजार ५६९ पुगेको छ।

बितेको चौबिस घण्टामा डेंगुका कारण थप चार जनाको मृत्यु भएको छ। योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ। लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ।

हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा पनि डेंगुका बिरामी भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ। प्रदेशानुसार डेंगु रोगका संक्रमितहरु बागमतीमा सबैभन्दा धेरै छन्।

बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जानकारी दिएको छ। यस्तै, लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१, प्रदेश १ मा ८१५, गण्डकी प्रदेशमा ६५३, मधेस प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु संक्रमण देखिएको महाशाखाले जनाएको छ।

डेंगु संक्रमण दरका हिसाबले १० वटा जिल्ला सबैभन्दा उच्च जोखिममा रहेका महाशाखाले जानकारी दिएको छ। डेंगु संक्रमणका हिसाबले काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, रुपन्देही, चितवन, धादिङ, गुल्मी र कैलाली क्रमश: उच्च जोखिममा रहेका मन्त्रालयले जानकारी दिएको छ।

हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ। यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१, दाङमा १ हजार ४१०, भक्तपुरमा १ हजार ७६, रुपन्देहीमा ७३७, चितवनमा ७१७, धादिङमा ४४९, गुल्मीमा २९९ र कैलालीमा २९८ जना डेंगुका संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर