काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला समूहले शनिबार आयोजना गरेको खबरदारी सभालाई पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री बद्री पाण्डेले नै बहिष्कार गरेका छन्।
उक्त खबरदारी सभामा आगामी निर्वाचनमा टिकट निश्चित भएका र समानुपातिक सूचीमा परेका नेताहरु पनि उपस्थित भएनन्। खबरदारी सभामा उपस्थित नहुनेहरुमा समूहको नेतृत्व गरिरहेका शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्री पाण्डे, उपसभापतिमा पराजित भएका चन्द्र भण्डारी, महामन्त्रीमा पराजित भएका डा. मिनेन्द्र रिजाल, नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीलगायतका नेताहरु छन्।
त्यसैगरी प्रदेशमा निर्वाचन लड्ने र पार्टीले टिकट दिने पक्कापक्की भएका शेखर समूहका प्रदेश सभापतिहरु अमरसिंह पुन र शुक्रराज शर्मा पनि खबरदारी सभामा उपस्थित भएनन्। गण्डकी प्रदेशका सभापति शर्मा प्रदेशतर्फबाट समानुपातिक बन्दसूचीमा परेका छन्।
यसरी आफ्नो टिकट फिक्स भएका नेताहरु नै खबरदारी सभामा अनुपस्थित भएपछि उक्त सभा टिकट पाउने सम्भावना नभएका र असन्तुष्ट नेताहरुको भेलामा परिणत भएको टिप्पणी हुन थालेको छ। उक्त खबरदारी सभामा उपस्थित नेताहरुले निर्वाचन आयोगमा पेश भएको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सच्याउन र प्रत्यक्षतर्फ शेखर समूहलाई ४० प्रतिशत भाग दिन माग गरेको छ।
खबरदारी सभामा सप्तरी-४ मा टिकट पाउने सम्भावना भएका तेजुलाल चौधरी र समानुपातिकको बन्द सूचीमा परेकी प्रतिमा गौतमबाहेक अन्य सबै टिकट पाउने सम्भावना नभएपछि असन्तुष्ट बनेकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गुरु घिमिरे, भुपेन्द्रजंग शाही, मनोजमणि आर्चाय, जगदिश नरसिंह केसी, प्रकाश स्नेहीलगायतको उपस्थिति रहेको थियो।
गुरु घिमिरेको निर्वाचन क्षेत्र मोरङ-४ माओवादीका अमनलाल मोदी चुनाव लड्ने भएका छन्। त्यसैगरी भूपेन्द्रजंग शाहीको निर्वाचन क्षेत्र कालीकोटमा पनि माओवादीले नै टिकट पाउने भएको छ। त्यसैगरी जगदिशनरसिंह केसीले पनि प्रतिनिधि सभामा टिकट पाउने सम्भावना छैन।
बझाङ गठबन्धनको बाँडफाँट अनुसार नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी चुनाव लड्ने भएपछि प्रकाश स्नेहीले पनि टिकट नपाउने भएका हुन्। उनी यसअघि समानुपातिकबाट सांसद भइसकेको हुँदा समानुपातिक बन्द सूचीमा पनि अटाएका छैनन्।
उक्त खबरदारी सभामा सत्तारुढ गठबन्धनको बैठकमा भागबन्डाको हिसाब मिलाएर मात्र कांग्रेसले चुनाव जित्न नसक्ने नेताहरुको दाबी थियो। खबरदारी सभालाई सम्बोधन गर्दै नेता घिमिरेले पार्टी संस्थापनले पेलिरहेकाले त्यसको प्रतिवाद गर्न पदाधिकारी र नेताहरूलाई खुट्टा नकमाउन आग्रह गरे।
घिमिरे यसअघि प्रदेशमा १ को पार्टी सभापतिमा दुई मतले उद्धव थापासँग पराजित भएका थिए। समूहकै नेताहरू शेखर कोइराला, सुजाता कोइरालालगायतले पनि मत नदिएपछि घिमिरे असन्तुष्ट बनेका थिए।
यसअघि आफ्नै समूहसँग आक्रोशित बनेका घिमिरे यसपटक मंसिरमा हुने निर्वाचनमा पनि कहीँकतैबाट टिकट नपाउने देखेपछि थप आक्रोशित बनेका हुन्। उनकै नेतृत्वमा भएको शनिबारको खबरदारी सभामा शीर्ष नेताहरुले नै बहिष्कार गर्दै अनुपस्थित भए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation