काठमाडौं- सरकारले यस वर्षको निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ। नेपालमा हरेक वर्ष भदौ २२ मा निजामती दिवस मनाइन्छ। बुधबार 'व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन' भन्ने नाराका साथ यसवर्षको निजामती दिवस मनाइँदैछ।
सरकारले दिवसका अवसरमा ४० जना निजामती कर्मचारीलाई पुरस्कारको घोषणा गरेको हो। मूल समारोह समितिले अघिल्लो वर्ष घोषणा भएको पुरस्कारबाट पुरस्कृत कर्मचारीलाई यस वर्ष पुरस्कृत गर्नेछ भने यसवर्ष घोषणा भएको पुरस्कार भने अर्को दिवसमा मात्रै वितरण हुनेछ।
निजामती सेवा नियमावली २०५० को ११६ (क) बमोजिम हरेक वर्ष एक जनालाई दुई लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई जनही ५० हजार रुपैयाँसहित निजामती सेवा पुरस्कार र १० जनालाई जनही एक लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिन्छ।
हाल नेपालमा करिब ८३ हजार निजामती कर्मचारी छन्। तर सरकारले यसवर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने भेट्टाएको छैन। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय गरेको छ। तर सर्वोत्कृष्ट कर्मचारी भने यस वर्ष पनि छनोट गर्न सकेको छैन।
यसरी सर्वोत्कृष्ट कर्मचारी पुरस्कृत नगरेको यो छैटौँ वर्ष हो। तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो। २०६० सालदेखि यस दिवस नियमित मनाउन थालिएको छ।
यसवर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरुहरुमा निर्देशक पदम कुमार श्रेष्ठ, उपसचिवद्वय दीपकप्रसाद खतिवडा र हरिप्रसाद ज्ञवाली, उपसचिव मुना शर्मा, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, उपसचिवद्वय शोभाखर रेग्मी र सन्तोष पौडेल, सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादव, शाखा अधिकृत रुकु शर्मा पौडेल र शाखा अधिकृत महंगु लोध रहेका छन्।
यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा सहसचिव सुरेन्द्रमोहन श्रेष्ठ, सहसचिव रमेश अर्याल, उपसचिव लिलाकान्त पौडेल, निर्देशक सत्यनारायण थापा, सिनियर डिभिजनल इन्जिनियर नारायणप्रसाद काफ्ले, उपसचिवत्रय मुनकुमार केसी, ऋषिराम भुसाल र शान्तिबहादुर बस्नेत रहेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation