८ कार्तिक २०८३, शनिबार

सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङ, श्रीमती र छोरीहरूविरुद्ध साढे ४ अर्बको मुद्दा दायर

  • १६ भदौ २०७९, बिहिबार
Image

काठमाडौं- सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सवा ३ अर्बभन्दा बढीको गैरकानूनी सम्पत्ति तथा ठगीसम्बन्धी मुद्दा दायर गरेको छ।

तामाङले ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति गैरकानूनी ढंगले आर्जन गरेको अभियोगमा सोही बराबर बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

उनकी श्रीमती सिर्जना शाक्यविरुद्ध १ अर्ब ३ करोड रुपैयाँबराबर बिगो कायम गरिएको छ। बुवाआमासँगै प्रतिवादी बनाइएका छोरीहरू प्रतिक्षाविरुद्ध ६ करोड ६६ लाख र प्रतिशाविरुद्ध १ करोड ८९ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

तामाङ परिवारका सदस्यविरुद्धको कुल बिगो रकम ४ अर्ब ४२ करोड २२ लाख हुन आउँछ। यस्तै सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ विरुद्ध २६ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

सिभिल सहकारीका निक्षेपकर्ताको ५ अर्ब ५७ करोड ठगी गरेको आरोपमा सीआईबीले २०७८ साल असोज महिनामा तामाङलाई पक्राउ गरेको थियो। सीआईबीले ६० दिन लगाएर अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

सीआईबीमा १ हजार ४९९ जनाले उनीविरुद्ध उजुरी दिएका थिए। उजुरीका आधारमा पीडितहरूको मागदाबी ५ अर्ब ५७ करोड ८४ लाख रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित खवर