काठमाडौं- नागरिकहरुको एकीकृत लेखाजोखा राख्नका लागि सरकारले सुरु गरेको राष्ट्रिय परिचयपत्र वितरणका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पहल थालेको छ।
नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरबासीहरुको सुविधाका लागि नगरपालिकामा नै विवरण दर्ता अनलाइनमाध्मबाट गर्न सुरु गरिएको बताएका छन्। नगरपालिकामा आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरणको लागि सेवाग्राहीको विवरण दर्ता अनलाइन प्रक्रिया सुरु गरिएको हो।
नेपालमा २००९ सालदेखि राष्ट्रिय परिचयपत्रको रुपमा नागरिकताको प्रचलन सुरु भएको हो। त्यसको शुद्धताका लागि हामीले सुरुवाती समयदेखि प्रमाणीकरणको चुनौती झेल्दै आएका छौँ।
वास्तवमा अहिलेको समयमा नागरिकताका आधारमा व्यक्तिको पहिचान गर्न निकै नै चुनौतीपूर्ण भइसकेको छ। यसै किसिमको चुनौतिको सामना गर्न र सार्वजनिक सेवा सुविधा सहज र छिटो छरितो रुपमा नागरिकलाई प्रदान गर्नकै लागि राष्ट्रिय परिचयपत्र ल्याउन लागिएको हो।
अब आउने राष्ट्रिय परिचयपत्र मूलतः सूचना प्रविधिमा आधारित हुनेछ। त्यसमा नागिरकतामा हुने व्यक्तिको जनसांखिक विवरण बाहेक अनुहार (फोटो), दश ओटै औँलाको औंठाछाप, दुई आँखाको आइरिस लगायतको व्यक्तिको जैविक विवरणका साथै विद्युतीय हस्ताक्षरको रुपमा ई–सिग्नेचर समेत राखिनेछ।
यस किसिमको राष्ट्रिय परिचयपत्रका आधारमा कुनै पनि निकायले परिचयपत्रका आधारमा अनलाइन तथा अफलाइन दुबै रुपमा व्यक्तिको पहिचान प्रमाणित गर्न सक्नेछ। फिङ्गरप्रिन्ट लगायतका केही विवरण कार्डमै समावेश गर्ने सरकारी योजना छ।
एक व्यक्तिको विवरण अर्को व्यक्तिसँग जुध्न नदिन विशेष किसिमको प्रविधि अपनाइने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सुवास ढकाल बताउँछन्। अहिलेको कागजी प्रणालीमा भने यस किसिमको पद्धति सम्भव छैन।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation