९ कार्तिक २०८३, आइतबार

आज बुबाको मुख हेर्ने दिन, यस्तो छ कुँशे औंशीको महत्व

  • ११ भदौ २०७९, शनिबार
Image

काठमाडौं-  आज भदौ कुशे औंसी। बुबालाई सम्मान प्रकट गर्दै देशभर कुशे औंसी भनाइन्छ।  आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। 

यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्।

भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउन बुवाको मुख हेर्ने र कोशेली दिने परम्परा छ।

कुशै औंसीका दिन पिता हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन्।

यस्तै बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायतका पवित्र तिर्थस्थल पुगेर पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्दछन्। तर यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्णरुपमा सिल गरिएको छ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ। भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन्।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।

नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्ममा महत्वका साथ हेरिन्छ। वैदिक सनातन हिन्दू संस्कारमा कुश अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती मानिन्छ। यो देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो। औंशी दिन घरमा ल्याइने कुशको महिमा श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ।

कतिपयले बुवाको मुख हेर्नेदिनलाई फादर्स डे पनि भन्छन्। तर फार्दस डे र बुवाको मुख हेर्ने दिनमा फरक छ। सन् १९०९ मा पहिलो पटक श्रीमती सोनोरा डोडले आफ्नो पिताको सम्मानमा मनाएकि थिइन्। त्यसपछि फार्दस डेलाई जुन १९, १९१० मा अमेरीकामा मनाइएको थियो। तर, बुवाको मुख हेर्ने दिन कहिलेबाट मनाउन थालियो भन्ने कुनै यकिन तथ्यांक छैन। यो पौराणिक कालबाटै मनाउन थालिएको किवंदन्ती छ।

यस दिनलाई पितृसम्मान दिवसको रुपमा पनि मनाइन्छ। हिन्दू धर्ममा बुबा, आमा र गुरुलाई भगवान् सरी पुजिन्छ। बुबालाई गुरु, रक्षक र पथप्रदर्शक मानिन्छ। संस्कृतको “पा’ रक्षणे धातुबाट बनेको पिता शब्दको अर्थ नै संरक्षक हो।  पिताबाट नै अबोध शिशुहरूलाई पालनपोषण र मार्गदर्शन गर्ने कार्य भएको हुन्छ। 

आफ्ना जीवनदाता, शिक्षादाता र पालनकर्ता पिताको सम्मान र आज्ञापालन गर्नु सन्तानको सर्वोपरि कर्तव्य हो। तोतेबोली बोल्दै बामे सर्दाको अवस्थामा बुबाको हातको सहाराले हिँडुन सिकेका हुन्छौ। हामीलाई आफै हिँड्न सिकाउने हाम्रा प्रिय अभिभावक नै हाम्रा पहिला गुरु हुन्।  पिताको सम्मान र सेवा गर्नाले जति कल्याण त कुनै पनि दान यज्ञबाट सम्भव छैन। बुबाको मुख हर्ने दिनलाई कुशे औँसी वा पितृतर्पनी औँसी वा गोकर्ण औँसी पनि भनिन्छ। यस दिन आफ्ना बुबालाई मीठो मीठो खान  उपहार तथा सम्मान गरेर मनाइन्छ।  

धर्म गर्नलाई मन्दिर धाउने होइन, आफ्ना मातापिताको सेवा र सम्मान गर्नु पर्दछ। त्यसैले श्री स्वस्थानीमा गणेश भगवान्ले महादेव र पार्वतीलाई परिक्रमा गरेर जुनसुकै पूजाआजा गर्दा पनि पहिला गणेशको पूजा गर्नुपर्ने वरदान प्रात्त गरेका थिए।  ‍

त्यस्तै, लोक व्यवहारमा पनि जब जब जीवनमा कुनै संकट छाउँछ, तब तब हामी आफ्ना जन्मदातालाई सम्झने गर्दछौ। वैशाख कृष्ण अमावस्याको दिन आमालाई र भाद्र कृष्ण अमावस्याको दिन बुबालाई समर्पित गर्दछौं। 

आजको दिनमा पनि टाढा टाढा रहेका छोरी चेलीहरु आफ्नो माइती घर पुगी आफ्ना  गच्छेअनुसार मिठाई फलफूल लगी बुबाको मुख हेर्ने गर्दछन्। यसरी हरेक चाडपर्वले हामी सबैमा उत्साह, हर्षको सञ्चार गर्दछ। 

प्रतिक्रिया

सम्बन्धित खवर