८ कार्तिक २०८३, शनिबार

नेपाल बन्दप्रति आक्रामक विप्लव समूह : ठाउँ-ठाउँमा भेटिए बम, प्रहरीसँग झडप

  • ७ भदौ २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले गरेको नेपाल बन्दप्रति कार्यकर्ताहरु आक्रामक बनेका छन्। विप्लव समूहका कार्यकर्ताहरुले विभिन्‍न ठाउँमा बमहरु नै राखेका छन् भने केही क्षेत्रमा प्रहरीसँग झडप पनि भएको छ। 

दाङको घोराही उपमहानगरपालिका–३ मा मंगलबार बिहानै एक टिपरमा आगजनी भएको छ। बन्दकर्ताले बिहान साढे ४ बजे बबई खोलाको पुन नजिकै आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ। 

त्यसैगरी बीपी राजमार्ग अन्तर्गत धुलिखेल–९ मा भेटिएको नक्कली बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। मंगलबार  धुलिखेल–९ मा राखिएको होक्स नेपाली सेनाको कालीजंग गण धुलिखेलका सेनाले डिस्पोज गरेका हुन्। 


राजमार्गमा प्रेसर कुकरमा राखिएको उक्त बमका कारण केहीबेर यातायात ठप्प भएको थियो। अहिले यातायात खुलेको प्रहरीले जनाएको छ।

बैतडी र कैलालीका दुई-दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ। गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको उनले बताए। बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन।

काभ्रेको बनेपास्थित चारदोबाटोमा नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी भएको छ। विप्लव सहित ४ कम्युनिस्ट पार्टीले नेपाल बनदको घोषणा गरेका छन्। बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएपछि केहीबेर बनेपा तनावग्रस्त बनेको छ। प्रहरीले केही बन्दकर्तालाई पक्राउ समेत गरेको छ।

मंगलबार बिहानैदेखि उपत्यका लगायत देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर