९ कार्तिक २०८३, आइतबार

बूढीगंगामा कडा सुरक्षाकाबीच निर्वाचन सम्पन्न

  • २३ असार २०७९, बिहिबार
Image

बाजुरा- बाजुराको बूढीगंगा नगरपालिकामा कडा सुरक्षाकाबीच निर्वाचन सम्पन्न भएको छ। सबै मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएर पाँच बजेसम्म मतदान सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ। 

बूढीगंगा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन्। कूल मतदाताको ६६.७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए। बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो। नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झड्प हुन नदिन हवाइ फायर गरेको थियो।

अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ। त्रिशक्ति मतदान केन्द्रमा पनि ३५ मिनेट जति मतदान रोकिएर पुनः मतदान भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताए।  बूढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए।

मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतले गरेका थिए। १० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ। नगरप्रमुखमा नेपाली कांग्रेसबाट रंगबहादुर खाति र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन्।

कांग्रेसका उम्मेदवार खातिलाई गठबन्धनकोसमेत समर्थन रहेको छ। बैशाख ३० मै निर्वाचन भएको बूढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो। बैशाख ३० मा भएको चुनावमा बूढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर