८ कार्तिक २०८३, शनिबार

कांग्रेसको निष्कर्ष : स्थानीय चुनावमा गठबन्धन परिणामुखी, आसन्न निर्वाचनमा तालमेल आवश्यक

  • १६ असार २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीचको चुनावी तालमेलले धेरै सिटमा जित निकाल्न सफल भएको निष्कर्ष निकालेको छ। केन्द्रीय निर्वाचन परिचालन समितिले गठबन्धनकै कारण पार्टीले धेरै सिटमा जित निकालेको जनाएको छ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिले आठ उपसमितिहरू गठन गरी चुनावमा परिचालित थियो। समितिका संयोजक एवम् उपसभापति खड्काले बिहीबार केन्द्रीय कार्यालयमा बसेको समितिको बैठकमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै चुनावी तालमेलकै कारण पार्टीले धेरै सिट जितेको बताएका हुन्। समितिले अहिलेको चुनावमा तालमेलकै कारण धेरै सिट जित्न सफल हुनुलाई आधार मान्दै आसन्न निर्वाचनमा समेत गठबन्धन गर्नु उपयुक्त हुने सुझाव दिएको छ।

कांग्रेसले आफू नेतृत्वको गठबन्धन हुँदा राष्ट्रिय एकताको सन्देश गएको दाबी गरेको छ। ‘निर्वाचन जित्नका लागि कांग्रेसको एकल शक्ति अपुग हुने स्थितिमा गठबन्धन परिणामुखी बन्यो। अहिलेको निर्वाचन परिणामले कांग्रेस र प्रतिस्पर्धी पार्टीको मत झण्डै बराबरीको अवस्थामा आउनुले पनि सिट संख्या बढाउन शक्ति सन्तुलनलाई ख्याल गरी गठबन्धन गर्नु आवश्यक देखिन्छ,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘कांग्रेसको नेतृत्वमा गठबन्धन कायम हुँदा राष्ट्रिय एकता कायम भएको सकारात्मक सन्देश समेत प्रवाह भएको छ।’

स्थानीय तह निर्वाचन अघि कांग्रेसमा गठबन्धन गर्ने वा नगर्ने भनेर नेताहरूबीचमै मतभेद भएको थियो । सभापति शेरबहादुर देउवा केन्द्रबाटै गठबन्धन गर्नुपर्ने पक्षमा थिए भने नेता शेखर कोइराला पक्षले केन्द्रबाट गठबन्धन लाद्न नमिल्ने अडान लिएका थिए।

त्यहीकारण केन्द्रीय समितिले स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने भन्ने निर्णय लिएको थियो। समितिले कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नभएको, तर गठबन्धन गरेर जाँदा बढी सफलता मिलेको दाबी गरेको छ।

समितिका अनुसार कांग्रेसले गठबन्धनबिनै उम्मेदवारी दिएकामा ४८ प्रतिशत जित निकालेको छ भने गठबन्धन गरेर उम्मेदवारी दिएकामा ६१ प्रतिशत जित निकालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर