९ कार्तिक २०८३, आइतबार

आफूले आफैँलाई नम्बर दिन चाहन्न यसको मूल्यांकन जनताले गर्नुपर्छ: श्रेष्ठ

  • १३ असार २०७९, सोमबार
Image

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट राजीनामा दिएका नेकपा एकीकृत समाजवादीका सांसद तथा निवर्तमान मन्त्री कृष्णकुमार श्रेष्ठले आफूले गरेका कामको जनताले मूल्यांकन गर्नुपर्ने बताएका छन्।

आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेसँगै आफू निवर्तमान मन्त्री भइसकेको बताए।

‘मैले यो काम गरेँ भनेर आफूले आफैँलाई नम्बर दिन चाहन्न,’ उनले भने, ‘कार्यकाल सकेर म मन्त्रालयबाट आज बिदा हुँदैछु।’ आइतबार राजीनामा दिएका पर्यटन मन्त्री प्रेम आलेले आफूले राम्रो काम गरेको भन्दै ९० नम्बर दिन्छु भनेका थिए।

त्यसतर्फ लक्षित गर्दै श्रेष्ठले आफूले आफैँलाई नम्बर दिन उचित नहुने बताएका छन्। उनले मन्त्री बन्ने र फिर्ता हुने नियमित प्रक्रिया भएको बताए। एकीकृत समाजवादीले मन्त्री बनाएको र उक्त पार्टीले फिर्ता आउन भनेपछि फिर्ता जानु स्वभाविक भएको उनको भनाइ थियो।

‘अहिले ११ बजे नयाँ मन्त्रीज्यूको सपथ छ। मन्त्रालयका सचिव नयाँ मन्त्रीलाई लिन जानुपर्ने छ,’ उनले भने, ‘कहिले स्वागत कहिले बिदाइ यो नियमित प्रक्रिया हो।’

उनले आफूले गरेका काम हेरेर जनताले मूल्यांकन गर्नुपर्ने बताएका थिए।

‘मेरो काम हेरेर जनताले नम्बर दिनुपर्छ। म आफूले आफूलाई नम्बर दिन रूचाउन्न,’ उनले भने, ‘मलाई जसरी सहयोग गर्नुभयो, नयाँ मन्त्रीलाई पनि सफल बनाउन सहयोग गरिदिनुहोला।’

सचिवको आग्रहअनुसार मन्त्रालयमा आज बिहान बिदाइ कार्यक्रम गरिएको उनले बताए।

‘छोडेर जाँदा नरमाइलो लागेको छ कि भन्नुहोला, लागेको छैन,’ उनले भने, ‘एउटा पनि काम तथा निर्णय बिबादरहित रहे। आठ महिना २१ दिन मन्त्री भएर काम गरे। सांसद छु फेरि मन्त्री हुन सक्छु। फेरि चुनाव जित्न सक्छु।’

प्रतिक्रिया

सम्बन्धित खवर