९ कार्तिक २०८३, आइतबार

नेपाली सेना भरपर्दो 'ल्यान्ड पावर', इण्डो-प्यासिफिकमा सहकार्य खोज्दै अमेरिका

  • ३० जेठ २०७९, सोमबार
Image

काठमाडौं- अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्रका कमाण्डर जनरल चार्ल्स ए फ्लिन आइतबार राति स्वदेश फर्किएका छन्। बिहीबार १२:३ बजे अमेरिकी सेनाको विशेष विमानबाट काठमाडौं ओर्लिएका जनरल फ्लिनले ८१ घण्टा नेपालमा बिताए। उनले यस अवधिमा उच्चस्तरीय भेटघाटका साथै माउन्टेन फ्लाइट, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गरे। 

बिहीबार काठमाडौं ओर्लिए पनि उनले दूतावासका कर्मचारीहरुसँग भेटघाट र ब्रिफिङ लिए भने शुक्रबारदेखि मात्रै द्विपक्षीय भेटघाटलाई अघि बढाएका हुन्। जनरल फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरे। भेटका क्रममा नेपाल-अमेरिका सुरक्षा सहकार्य तथा द्विपक्षीय हित र मानवीय सहायता तथा विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको थियो। 

प्रधानमन्त्री देउवालाई भेटेलगत्तै फ्लिन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए। नेपाली सेनाकी परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीसँगको भेटमा जनरल फ्लिनले नेपाली सेनाका प्रधानसेनापतिको अमेरिका भ्रमणको पूर्वतयारीका लागि आएको जानकारी गराएको राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले बताएका छन्।

उनलाई शुक्रबार दिउँसो नै सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्दै प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरे। प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको थियो। 

चारदिने औपचारिक भ्रमणको तेस्रो दिन जनरल फ्लिन शनिबार हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटमा सहभागी भए। दिउँसो फर्किएपछि काठमाडौंको कान्तिपथस्थित फोरा दरबारमा अमेरिकी दूतावासले आयोजना गरेको अन्तरक्रियामा सहभागी भएका जनरल फ्लिनले अमेरिकाका लागि इन्डो प्यासिफिक क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दै यस क्षेत्रको शान्ति, स्थिरता र समृद्धिका लागि अमेरिकी सेनाले नेपाल लगायत मुलुकसँग सहकार्य गर्न चाहेको बताएका थिए। प्रतिस्पर्धी चीनलाई काउन्टर दिन अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रका भारत लगायत मुलुकसँग रणनीतिक सम्बन्ध विस्तार गर्दै आएको अवस्थामा नेपाल आएर पनि उनले इन्डो प्यासिफिक क्षेत्रमा नेपालसँग सहकार्य गर्न चाहेको बताएका हुन्। 

त्यसैगरी आफ्नो भ्रमणको अन्तिम दिन नेपाली सेनाको प्रशंसा गर्दै नेपाली सेना भरपर्दो 'ल्यान्ड पावर' भएको बताए। शिवपुरीमा फ्लिनले तालिमरत शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गर्दै नेपाली सेना भरपर्दो जमिनी शक्ति रहेको भन्दै प्रशंसा गरेका छन्। फ्लिनले भने–‘नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पुरानो सेनाहरुमध्ये रहेको छ।’ 

इन्डो-प्यासिफिक क्षेत्रको सुरक्षाका लागि विभिन्‍न संयन्त्रको निर्माण गरिरहेको अमेरिकाले चिनलाई काउन्टर दिन नेपालको सहकार्यको खोजी गरेको देखिन्छ। सन् २०२१ जुनदेखी एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहेका फ्लिनले नेपाललाई महत्वपूर्ण भूमि भएको र यहाँको सेना महत्वपूर्ण 'लयान्ड पावर' भएको बताएका हुन्। 

प्रधासेनापति शर्मा नेपालको शान्ति स्थापनार्थ भइरहेको कामलाई अवलोकन गर्दै असार १३ मा अमेरिकाको ५ दिने भ्रमणको लागि जाने छन् । नेपाल–अमेरिका कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य पनि भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर