काठमाडौं- स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आएको छ। निर्वाचन आयोगका अनुसार करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ७५३ स्थानीय तहमा करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा ८ हजार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने काम भइरहेको पनि बताए ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार अपराह्न ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । प्रवक्ता पौडेलले भने, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिब ८ हजार छ। एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन्।
त्यसमा करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ । आज चुनाव चिह्न प्रदान हुन्छ ।’ शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको थियो । स्थानीय तह निर्वाचन यही वैशाख ३० गते हुँदैछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation