८ कार्तिक २०८३, शनिबार

फ्रान्सको राष्ट्रपतिमा फेरि म्याक्रों विजयी, भने - चुनाव सकियो अब म सबैको राष्ट्रपति

  • १२ वैशाख २०७९, सोमबार
Image

पेरिस- फ्रान्सको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि फेरि एमानुएल माक्रोँ विजयी भएका छन्। प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गर्दै दोस्रो पटक थप पाँच वर्षका लागि उनी राष्ट्रपति भएका छन्।

यद्यपि माक्रोँद्वारा पराजित पेनले अति दक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भएकी छन्। माक्रोँले ५८ प्रतिशत मतसहित जित हासिल गरेको बताइएको छ। त्यो भनेको अपेक्षा गरिएको भन्दा ठूलो अन्तर हो।

आइफल टावरको फेदमा उदारवादी माक्रोँले हर्षोल्लासका साथ आफ्ना समर्थकहरूलाई 'अब चुनाव सकिएकाले आफू सबैका लागि राष्ट्रपति बनेको' बताएका छन्।

उनकी प्रतिद्वन्दी ल पेनले पराजित भए पनि आफूले पाएको मतले जितेको बताइन्। उनले आफ्ना समर्थकहरूलाई आफूहरूका राष्ट्रिय र्‍यालीहरूले आफ्नो विचारलाई नयाँ उचाइमा पुर्‍याएको बताइन्।

तर उनका उग्रदक्षिणपन्थी प्रतिस्पर्धी एरिक जेम्डुरले ल पेन पनि उनका पिताजस्तै असफल भएको बताएका छन्। उनले भने, 'ल पेनको नामले हारेको यो आठौँ पटक हो।'

आफ्नो विजयपछिको मन्तव्यमा माक्रोँले 'उग्रदक्षिणपन्थीलाई मतदान गर्ने निर्णय गर्ने देशवासीको आक्रोश र असहमतिलाई पत्ता लगाउनैपर्ने' बताएका छन्।

उनले त्यो काम अब आफू र आफू वरपरका व्यक्तिहरूको भएको पनि बताए। उग्रदक्षिणपन्थी उम्मेद्वारले शृङ्खलाबद्ध रूपमा युरोपेली सङ्घ ईयू विरोधी नीतिहरूको वकालत गरिरहेकाले उनको विजयले उनीहरूलाई राहत मिलेको हो।

फ्रेन्च राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको बताइएको छ। त्यो भनेको राष्ट्रपतीय निर्वाचनमा सन् १९६९ यताको सबैभन्दा कम मतदान हो। उक्त मतमा करिब ३० लाख खाली वा बदर मतपत्रहरू पनि समावेश छन्। त्यो भनेको तीन भोटमा एक भोट बराबर हो।


प्रतिक्रिया

सम्बन्धित खवर