९ कार्तिक २०८३, आइतबार

अक्सिज प्लान्ट विस्फोटमा घाइते थप एकको मृत्यु, ५ जना डिस्चार्ज

  • ८ वैशाख २०७९, बिहिबार
Image

काठमाडौं- ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार विस्फोट हुँदा ज्यान गुमानेको संख्या दुई पुगेको छ। यसअघि एकजना भारतीय नागरिकको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। 

अक्सिजन प्लान्टका सिलिन्डर विस्फोट हुँदा घटनास्थलमा ज्यान गुमाएका भारतीय नागरिक वृज मोहन महतोको शरीर टुक्रा टुक्रा भएको हो। त्यसैगरी उपचारका क्रममा मृत्यु हुने थप एक जना राजकुमार महतो रहेका छन्। अन्य घाइते पाँच जना पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्।

अन्य घाइतेमा पर्सा घर भएका रमेश अधिकारी, ललितपुरकी दुर्गा पुरी, सुदीप तिमिल्सेना, ईश्वर बजगाईं, ओखलढुंगाकी अन्जना पौडेल, काठमाडौंका गंगाराज शर्मा छन् ।  

अहिले घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमले सुरुवाती अनुसन्धान गरिरहेको र सुरुवाती अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले बताए ।

‘अक्सिजन रिफिलको काममा बिस्फोट भएको देखिन्छ। घरहरूमा क्षति भएको छ, सिसा फुटेको छ। मृतकका पार्टहरू धेरै टाढा टाढासम्म पुगेको छ, यो टेक्निकल्ली कारण हो। अब अनुसन्धानपछि सबै थाहा हुन्छ। विस्फोट भएका कारण घटना भएको हो। आगलागी भएको छैन। क्षति अहिले नै यकिन गर्न सकिँदैन। कति भयो अनुसन्धानपछि थाहा हुन्छ। रिफिलिङगको क्रममा टेक्निकल्ली मिस्टेक भएर बिस्फोट भयो प्लान्टमा नै क्षति पुगेको छ। छिमेकको घरहरूमा पनि सिसा फुटेको छ,’ उनले भने।

त्यस्तै दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताए। उनले अन्य घाइतेलाई सरकारले उपचार गर्ने पनि प्रतिबद्धता जनाए। यसअघि गृहमन्त्री बालकृष्ण खाणले पनि घटनाको तथ्यसत्य छानबिन गर्न निर्देशन दिएका थिए। 


प्रतिक्रिया

सम्बन्धित खवर