१९ वैशाख २०८१, बुधबार

चीनमा बढ्यो कोरोना संक्रमण, ३ जनाको मृत्यु

  • ६ वैशाख २०७९, मङ्गलबार
Image

बेइजिङ- चीनका विभिन्‍न स्थानमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।  सांघाई सहरमा गत मार्चमा लकडाउन गरिएयता पहिलो पटक कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ।

सांघाई स्वास्थ्य आयोगले मृत्यु भएका व्यक्तिहरू ८९ देखि ९१ वर्षका रहेको जनाएको छ। जटिल स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका तीनै जनाले कोरोनाविरुद्धको खोप भने लगाएका थिएनन्।  

सांघाईका ६० वर्षभन्दा बढी उमेरका ३० प्रतिशतले खोपको पूर्ण मात्रा लिएका छन्।  सांघाईमा यसअघि कोरोनाका कारण कसैको मृत्यु नभएको चीनले दाबी गरेको थियो।  

अधिकारीका अनुसार सांघाईमा सन् २०२० को मार्चयता सोमबार पहिलो पटक कोरोनाका कारण मृत्यु भएको हो। तर, कतिपयले त्यसमाथि प्रश्न उठाउने गरेका छन्।  मार्च अन्त्यमा ९ दिनका लागि भनेर लगाइएको लकडाउन हाल चौंथो सातामा प्रवेश गरेको छ। सहरका सबै नागरिकको सामूहिक परीक्षण गर्न लागिएको जनाइएको छ। 

सहरमा जारी निषेधाज्ञाका कारण लाखौं मानिसहरू घरभित्र बस्‍न बाध्य छन्।  सांघाईको जनसंख्या हाल २ करोड ६० लाख हाराहारी छ। 

पछिल्लो समय निषेधाज्ञा कडा पारिएपछि भने सर्वसाधारणहरू आक्रोशित भएका बीबीसीले उल्लेख गरेको छ। प्रतिबन्धका कारण खाद्यान्न आपूर्तिमा समस्या देखिएको भन्दै मानिसहरूले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरिरहेका बीबीसीले उल्लेख गरेको छ। 

स्थानीयले खानेकुरा, पिउने पानी तथा अन्य अत्यावश्यक सामग्री अन्यत्रबाट मगाउनुपरेको जनाएका छन्। त्यस्तै, तरकारी, मासु र अण्डाका लागि सरकारको भर पर्नुपरेको बताएका छन्।  लकडाउन अवधि लम्बिँदै जाँदा सामान उपलब्ध गराउने सेवा, खुद्रा सामग्रीका वेबसाइट तथा सरकारले गर्दै आएको आपूर्ति प्रणालीमा ठूलो चाप थपिएको छ।

तर दैनिक २० हजार जनाभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइरहेकाले सरकारी अधिकारीहरूमाथि पनि चुनौती थपिएको छ।  सांघाईमा सोमबार माक्रै २२ हजार २ सय ४८ जनामा संत्रमण पुष्टि भएको जनाइएको छ।  केही सातायता सहरका प्रदर्शनी हल, विद्यालय तथा खुला स्थानलाई क्वारेन्टिन तथा अस्थायी अस्पताल बनाउन प्रयोग गरिएको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर