काठमाडौं- नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घन्टा सञ्चालन हुने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शुक्रबार बबरमहलमा सञ्चारकर्मीहरुसँग देशभरको हवाई यातायातको चाप घटाउन पहिले काठमाडौं विमानस्थललाई २४ घन्टा संचालनमा ल्याउन लागेको बताए।
यसअघि ०७५ जेठमा पर्यटनमन्त्री रविन्द्र अधिकारीले बिहान ६ देखि राति १२ बजेसम्म १८ घन्टा सञ्चालन हुँदै आएको काठमाडौं विमानस्थललाई तीन घन्टा थपेर २१ घन्टासम्म सञ्चालनमा ल्याएका थिए।
यो निर्णय भएको १० महिनापछि काठमाडौं विमानस्थलको धावनमार्ग रातको समयमा जीर्णोद्धार गर्ने ठेक्काको समय सुरु भएपछि पुन: उडान संचालनको समय घटेको थियो। त्यसपछि कोभिडका कारण लकडाउन लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल संचालन समय पनि खुम्च्याइएको थियो।
यसैबीच प्राधिकरणले बिहीबारदेखि भैरहवास्थित गौतमबुद्ध विमानस्थलको पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग संचालनमा ल्याउँदैछ।
भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन हुने भए पनि अहिले अन्तर्राष्ट्रिय उडान भने जेठ २ गते बुद्धजयन्तीबाट हुने छन्।
कोरोनाको असर कम देखिएसँगै अहिले काठमाडौं विमानस्थलमा यात्रुको अत्यधिक चाप देखिन्छ। आन्तरिक उडान ५ घन्टासम्म डिले भइरहेका छन्। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार, दैनिक ३ सय ७० हाराहारी उडान भइरहेको काठमाडौंमा ४ सय १६ सम्म हुन थालेका छन्। दैनिक कम्तीमा २५ हजार यात्रु ओहोरदोहोर भइरहेका छन्।
यो समस्या तत्काल हल गर्ने उद्देश्यले अब प्राधिकरणले रात्रि सुविधा भएका भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म संचालनमा ल्याउने निर्णय गरेको छ। यसअघि राति बढीमा १० बजेसम्म विमानस्थल खुल्थे। यो निर्णयले स्थानीय सहरमा कोभिडको मार खेपेका होटल, ट्याक्सी लगायतका पर्यटन व्यवसाय पनि चलायमान हुनेछन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation