९ कार्तिक २०८३, आइतबार

रमाना बुझेर पाटन जानुपर्ने मुख्य रजिस्ट्रार कुँवर किन हिँडे घर ?

  • २९ चैत २०७८, मङ्गलबार
Image

काठमाडौं- आफूले मागेको पद नपाएपछि असन्तुष्ट बनेका सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर एक महिना लामो घर विदामा बसेका छन्।

न्याय परिषद्ले उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिस गरेपछि असन्तुष्ट बनेका कुँवर पहिलोपटक ७ दिन विदामा बसेपछि दोस्रोपटक एक महिना लामो घर विदामा बसेका हुन्।

उच्च अदालतको मुख्य न्यायाधीश पद पाउनुपर्ने बताउँदै आएका कुँवरले न्यायाधीशको पद अस्वीकार गरेका थिए। यसअघिका दुईजना मुख्य रजिष्ट्रार उच्च अदालतको मुख्य न्यायाधीश भइसकेको नजिर पेस गर्दै मुख्य रजिष्ट्रार कुँवरले आफूले पनि उच्च अदालतको मुख्य रजिष्ट्रार पद पाउनुपर्ने जिकिर गरेका थिए। तर न्याय परिषद्ले कुँवरलाई उच्च अदालतको न्यायाधीश मात्रै बनाएपछि उनी असन्तुष्ट बनेका थिए।

उनी पहिले उच्च अदालतको मुख्य रजिष्ट्रार र पछि सर्वोच्च अदालत आएर नहकुल सुवेदीपछि प्रधानन्यायाधीश बन्ने लाइनमा थिए। उनी उच्च अदालतको न्यायाधीश मात्रै बन्दा नहकुल सुवेदीपछि प्रधानन्यायाधीश बन्ने बाटो बन्द हुनेछ।

त्यसकारण पनि कुँवर उच्च अदालतको न्यायाधीशमा नगई मुख्य न्यायाधीश पदमा मात्रै जाने सोचमा थिए। न्याय परिषद्को सिफारिसका सम्बन्धमा उनले कामु प्रधानन्यायाधीशलाई पत्र नै लेखेर असन्तुष्टी पोख्दै उच्च अदालतमा न्यायाधीश मात्रै बनेर नजाने बताएका थिए।

गत फागुन २६ गते बसेको न्यायपरिषदको बैठकले कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो। सोही सिफारिसका आधारमा चैत २ गते कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले नियुक्तिको पत्र बुझ्न आउन भन्दै पत्र पठाएका थिए। तर कुँवरले अस्वीकार गर्दै पत्र बुझेका थिएनन्।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलकाअनुसार कुँवर सञ्चित विदाबाट कट्टा हुने गरी एक महिना लामो घर विदामा बसेका हुन्। कामु प्रधानन्यायाधीश कार्कीले चैत २५ गते शुक्रबार ३ दिनभित्र उच्च अदालतमा हाजिर हुन निर्देशनसहितको पत्र थमाएपछि कुँवर सोही दिनबाटै एक महिना लामो घर विदामा बसेका हुन्।

कुँवर चैत २५ गतेदेखि वैशाख २५ गतेसम्म एक महिनाको विदा स्वीकृत गराएर विदा बसेका हुन्। उनको विदा कामु प्रधानन्यायाधीश कार्कीले स्वीकृत गरेका छन्। लामो समय पत्र नबुझी बसेपछि कामु प्रधानन्यायाधीशले तीन दिनभित्र तोकिएको स्थानमा हाजिर हुन जान निर्देशन दिएका थिए।

निर्देशन कार्यन्वयन नभए न्याय परिषद्‍मा काजमा तान्ने तयारी भएपछि कारबाही रोक्नका उनी एक महिना लामो घर विदामा बसेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर