धनगढी - कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन्।
बुधबार भएका क्वाटरफाइनलका खेलमा जित निकाल्दै दुबै विभागिय टोली अन्तिम चारमा पुगेका हुन्। बुधबार दिउँसो भएको पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३-० को सोझो सेटले पराजित गर्यो। २५-१७, २५-२१ र २५-९ को सेटले आर्मीसँग प्रदेश नम्बर १ पराजित भएको हो। खेलका म्यान अफ द म्याच आर्मीका दुर्गा खड्का भए।
बुधबार दिउँसो नै भएको क्वाटरफाइनलको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटले पराजित गरेको छ।
पुलिसले २५-८, २५-९ र २५-१५ को सेटले पराजित गरेको हो। खेलका म्यान अफ द म्याच पुलिस क्लबका हिम राना भए। यसअघि बुधबार विहान भएको खेलमा घरेलु टोली सुदूरपश्चिम बागमती प्रदेशलाई पराजित गर्दै समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको छ। सुदूरपश्चिमले बागमती प्रदेशलाई ३-१ को सेटले पराजित गर्यो।
पहिलो र दोस्रो सेट २५-१६ र २५-२३ ले जितेको सुदूरपश्चिमले तेस्रो सेट भने १६-२५ ले गुमाएको थियो। चौथो सेट २५-२२ ले जित्दै सुदूरपश्चिम समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो।
खेलका म्यान अफ द म्याच सुदूरपश्चिमका सन्तोष महता भए। आजको खेल हारे पनि बागमती प्रदेश पनि समूह उपविजेता बन्दै अन्तिम ८ मा पुगेको छ।
भोलि सुदूरपश्चिमले एपीएफ र बागमतीले गण्डकी प्रदेशसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ। १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation