काठमाडौं - कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएको छ।
अख्तियारमा लिखित उजुरी परेपछि उजुरीसँग सम्धन्धित कागजात नगरपालिकाबाट नियन्त्रणमा लिइएको आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए। 'लिखित उजुरी परेपछि सोसँग सम्बन्धित कागजात मात्रै नियन्त्रणमा लिइएको हो', उनले भने,'अब छानबिनको प्रक्रिया अघि बढ्यो।'
स्रोतका अनुसार अख्तियारले पुल निर्माणका विस्तृत परियोजना प्रतिवेदन, इञ्जिनियरिङ परामर्शदाता छनोट, सोसम्बन्धी भुक्तानी लगायतका कागजात नियन्त्रणमा लिएको हो।
त्यसैगरी आयोगले केही दिनअघि मात्रै भीमदत्त नगरपालिकाबाट महाकाली नदीमा रोयल्टी सङ्कलनको ठेक्का पाएको भवानी कन्स्ट्रक्सन कम्पनीको कागजात नियन्त्रणमा समेत लिएर छानबिन गरिरहेको छ।
नदीजन्य पदार्थमा रोयल्टी सङ्कलनको जिम्मा पाएको उक्त कम्पनीले प्रतिघन मिटर नदीजन्य पदार्थको ७५ उठाउनुपर्ने भए पनि १०५ सम्म सेवाग्राहीबाट लिएको अख्तियारीको भनाइ छ।भीमदत्तका नागरिक अगुवा तथा पत्रकार खेम भण्डारीले अख्तियारमा उजुरी दिएका थिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation