धनुषा- नेपाली कांग्रेस धनुषाको सभापतिमा तीन जनाले उम्मेदवारी दिएका छन्। २३ फागुनमा हुने मतदानमा कांग्रेसका विभिन्न तीन समूहबाट उम्मेदवारी परेको छ।
पार्टी सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट जिल्ला सभापतिमा वर्तमान जिल्ला उपसभापति सन्तोष यादव, कोइराला–पौडेल समूहबाट संविधान सभा सदस्य दिनेश प्रसैला यादव र निवर्तमान उपसभापति विमलेन्द्र निधि समूहबाट क्षिरेश्वर नगरपालिका मेयर योगेन्द्र पजियारले उम्मेदवारी दिएका हुन्। उनीहरूले जनकपुरस्थित कांग्रेस निर्वाचन समिति धनुषाको कार्यालयमा गएर आ–आफ्ना उम्मेदवारी दर्ता गराएका हुन्। तीनै जना उम्मेदवारले आफ्ना समूहका नेता तथा कार्यकर्ता लिएर प्रचारप्रसार गर्दै उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीहरूले आ-आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । तर, पार्टीको जिल्लाका नेताहरूको चुनावी समीकरणले पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउने अवस्था नरहेको कांग्रेसकै नेताहरूले बताउँदै आएका छन्। दोस्रो चरणमा मात्र जिल्ला सभापति चयन हुन सक्ने आँकलन गरिएको छ।
कांग्रेस जिल्ला निर्वाचन समिति धनुषाको अनुसार बिहीबार उम्मेदवारी दर्ता र उम्मेदवारको नामावली प्रकाशन र शुक्रबार बिहान ९ देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता, ११ बजेदेखि १ बजेसम्म दाबी विरोध, १ बजेदेखि ३ बजेसम्म दाबी विरोधको छानबिन, ३ देखि ५ बजेसम्म अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ। त्यसैगरी, शनिबार र आइतबार प्रचारप्रसार र २३ फागुन सोमबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान र सोही दिन साँझ ७ बजेदेखि मतगणनाको कार्यक्रम तोकिएको निर्वाचन समितिले जनाएको छ। कांग्रेसको धनुषा जिल्ला अधिवेशनमा तीन हजार १८७ मतदाता छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation