काठमाडौं- कमल थापा नेतृत्वको राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत भएका छन्। अध्यक्ष थापाले पार्टी विधानअनुसार १६ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनीत गरेको सो पार्टीका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए।
राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व सम्हालेका अध्यक्ष थापाले ६ जना उपाध्यक्ष, चार जना महामन्त्री र ६ जना सहायक महामन्त्रीमा १६ जनालाई मनोनयन गरेका हुन् । प्रवक्ता आचार्यका अनुसार उपाध्यक्षमा राजीब पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्र वीर राय, डा. विष्णु भण्डारी र लाक्पा तामाङ तथा महामन्त्रीमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार र राजाराम बर्तौला छन्।
यसैगरी सहायक महामन्त्री हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिका प्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादवलाई मनोनयन गरिएको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । मनोनीतमध्ये अधिकांश राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका नेता छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation