काठमाडौं- खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंबासीलाई उपलब्ध गराउने गरी सो खानेपानी आयोजनाको काममा तीव्रता दिइएको दाबी समेत गरे ।
नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढि र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर काठमाडौंबासीलाई उपलब्ध गराउन राष्ट्रको नाममै सम्बोधन गरेको स्मरण गराउँदै सो खानेपानीको व्यवस्थापनमा ढिलाई नहुने दोहोर्याएका छन् । मन्त्री चौधरीले भने, ‘काठमाडौंबासीले खानेपानीको कुरा उठाईराखेको छ । र, भर्खरै हाम्रो नेपाल सरकारले पनि घोषणा गरिसकेको छ ।
हाम्रा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रको नाममा सम्बोधन गरिसक्नु भएको छ । र, कृष्णप्रसाद भट्टराईको सपनालाई पूरा गर्ने सरकारको विषय भएको हुनाले मेलम्ची खानेपानी हामी समयअवधि भित्रै काठमाडौंबासीलाई खुवाउँछौ भनेर तदारुपताका साथ काम अगाडि बढिराखेको छ । र, त्यसलाई पूरा गर्न हामी प्रतिवद्ध छौं भन्ने म आज विश्वास दिलाउन चाहन्छु ।’
मन्त्री चौंधरीले खानेपानी महशुल निर्धारण आयोग केही दिन भित्रै गठन गर्ने घोषणा समेत गरेका छन् । केही वर्षदेखि सो आयोग रिक्त रहेको उल्लेख गर्दै उनले त्यसलाई पूर्णता दिन सरकारले प्रक्रिया अघि बढाईसकेको बताए। मन्त्री चौधरीले सो आयोग अन्तरगत रहेर सरकारले आम नागरिकलाई अझै सर्वशुलभ ढंगले खानेपानीको व्यवस्था गर्न लागेको पनि बताए ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation