९ कार्तिक २०८३, आइतबार

चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबैकाे प्रतिवद्धता जरुरी छ : प्रधानमन्त्री देउवा

  • ७ फागुन २०७८, शनिबार
Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताएका छन्।

७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको मिति तोकिसकिएको र त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्ने उल्लेख गर्दै ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताएका हुन्।

‘हामी स्थानीय तहको चुनाव छिट्टै सम्पन्न गर्न गइरहेका छौं। त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्नेछ‚’ उनले भने‚ ‘ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूबाट मुलुकका शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिवद्ध हुन आवश्यक छ।’

कोरोना महमारी नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी गरेका छन्। उनले सबैको समन्वयात्मक प्रयासबाट महामारीलाई छिट्टै परास्त गर्न सकिने विश्वास समेत व्यक्त गरे।

प्रधानमन्त्रीले स्वास्थ्य पूर्वाधार सेवाहरूको विस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै मुलुकको द्रुत गतिका लागि आर्थिक विकास र रुपान्तरण गर्न सरकारले चाहिरहेको पनि बताए।

‘कोभिड १९ को प्रकोपलाई नियन्त्रण गर्ने सन्दर्भमा सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको छ। यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल भएको छ।

सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार तथा सुदृढिकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ', प्रधानमन्त्री देउवाले भने, 'हामी सबैको समन्वयात्मक प्रयासबाट कोभिडलाई छिट्टै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौं भन्ने मैले विश्वास लिएको छु।’ 

प्रतिक्रिया

सम्बन्धित खवर