२०८१ साउन २७ आइताबर
काठमाडौं- बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू फेरि आन्दोलनमा उत्रिएका छन् ।बुटवलबाट प्रदेश राजधानी दाङ पुगेका पीडितहरूले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै ती मन्त्रालय र कार्यालय घेराउ गरेका हुन । बचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन्।
पीडितमध्येका एक विजय नेपालले बचत फिर्ताको सुनिश्चित नभएसम्म चरणबद्ध आन्दोलन गर्ने बताए । सहकारीमा झण्डै दुई हजार बचतकर्ताको पौने एक अर्ब रकम फसेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका एक हजार ३१ जनाले आफूहरूको ८६ करोड १ लाख २३ हजार अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका १९ हजार ३५ जना सदस्यको कुल बचत रकम एक अर्ब २ करोड १४ लाख २५३ रुपैयाँ देखिएको छ।
सहकारीको रकम ऋणका रूपमा लैजानेमा संस्थापक अध्यक्ष जीबी राईदेखि पूर्वगृहमन्त्री रवि लामिछाने एक समय आबद्ध भएको गोर्खा मिडिया नेटवर्क समेत छन् ।प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चलाएको मुद्दामा सहकारीका अध्यक्ष बुटवलका ओमप्रकाश गुरुङ थुनामा छन् । अन्य ६ जना जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्न आदेश गरे अनुसार रिहा भएका छन् । सहकारीका पूर्वपदाधिकारी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation