३१ असार २०८१, आइतबार

जाजरकोट भुकम्पपीडितको लाभग्राही सूची अझै टुंगिएन, भूकम्पपीडित थपिँदै

  • ७ माघ २०८०, आइतबार
Image

                 🕘️  २०८० माघ ७ आइतबार 


काठमाडौ ।जाजरकोट भूकम्पबाट पीडितको लाभग्राही सूची अझै टुंगिएको छैन । भूकम्प गएको साढे दुई महिना बितिसक्दा पनि पीडितहरुले लाभग्राही सूचीमा नाम टिपाउने क्रम निरन्तर छ । भूकम्पले भौतिक संरचनामा बढी क्षति गरेका दार्मा र कुमाख गाउँपालिका तथा बाग्चौर नगरपालिकामा भुकम्पपीडितको लाभग्राही सूचीमा अझै पनि भूकम्पपीडित थपिँदैछन् ।यसअघि १ हजार ७ सय ४३ घर बस्नै नमिल्ने गरी क्षति भएको सल्यानमा पछिल्लो समय सो संख्या बढेर २ हजार ८ सय २१ पुगेको छ।

दार्मा गाउँपालिकामा पहिलेभन्दा १४१ लाभग्राही थपिएका छन् । त्यस्तै, बाग्चौर नगरपालिकामा ३१६ र कुमाख गाउँपालिकामा १७ जना लाभग्राही थपिएका छन् । विपद् व्यवस्थापन समिति दार्माका संयोजक यज्ञबहादुर बस्नेतले क्षतिको विवरण संकलनमा ढिलाइ भएको र पछिल्लो समय घर चर्केकाहरुले पनि अस्थायी टहरा बनाउन आवेदन दिएका कारण संख्या बढिरहेको बताए ।

दार्माका ६ वडामा घर बस्नै नमिल्ने गरी १ हजार १ सय ७९ क्षति भएको तथ्यांक संकलन गरिएकोमा शुक्रबारसम्म थप १ हजार ४१ ले निवेदन दिएका उनले बताए । अस्थायी टहरा निर्माणका लागि दैनिक ४०/५० जना सम्मले घर बस्नै नमिल्ने गरी क्षति भएको भन्दै निवेदन दिँदै आएका छन् ।पहिला तथ्यांक संकलन गरिएका १ हजार १ सय ७९ मध्ये अहिलेसम्म ५ सय २० ले मात्र अस्थायी टहरा निर्माणका लागि पहिलो किस्ता बापत २५ हजार रकम बुझेका छन् । अन्यले पाउन सकेका छैनन्,’ उनले भने । अहिलेसम्म पहिलो र दोस्रो किस्ता बापत् राहत रकम पाउन नसक्दा दार्मामा मात्रै ४ सय बढी परिवार त्रिपालमै बस्दै आएका छन् ।

बाग्चौर नगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर कठायतले वडामा निवेदन दिन आह्वान गरेपछि दैनिक जसो ८/१० जनाले घर क्षति भएको भन्दै निवेदन दिएका र अहिलेसम्म ३सय १५ जना थपिएका बताए । अहिले पालिकाभरि भुकम्पबाट घर क्षति भएकाको संख्या ७ सय पुगेको छ । ‘निवेदन दिने आउनेक्रम जारी छ । अझ थपिदैँछन्,’ उनले भने ।

त्यस्तै, कुमाख गाउँपालिकामा १ सय ६३ घर बस्नै नमिल्ने गरी क्षति भएको तथ्यांक रहेकोमा वडामा निवेदन दिनेको संख्या बढेपछि अहिले १ सय ८० पुगेका प्रमुख प्रशासकीय अधिकृत छवि खडकाले बताए । सो पालिकामा सबैले पहिलो किस्ता बापत् पाउनुपर्ने २५ हजार समेत पाउन सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले भने बढेको लाभग्राही संख्याबारे जानकारी नभएको बताए । 'दार्मा, कुमाख गाउँपालिका र बाग्चौर नगरपालिकामा भुकम्पले बस्नै नमिल्ने गरी १ हजार ७ सय ४३ घर क्षति भएको विवरण छ । थपिएको विवरण आएको छैन,' उनले भने ।

पहिलो चरणमा २ करोड बजेट आएकोमा उक्त रकमबाट तीन पालिकाका ७ सय बढीले पहिलो किस्ता बापत् २५ हजार रुपैयाँ पाएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको खातामा थप ५ करोड रुपैयाँ प्राप्त भएपनि स्थानीय तहको खातामा पठाउन बाँकी रहेको प्रजिअ रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर