३२ असार २०८१, सोमबार

अमेरिका पुगेर प्रधानमन्त्रीले भने- विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिनेछ

  • १ असोज २०८०, सोमबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन आइतबार न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन्।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताए।

उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए।

उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए। अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पार्टी पङ्तिकाे उपल्लो तहमै केही समस्या देखिएको भन्दै अब त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए।

प्रधानमन्त्री दाहाललाई संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेससँग भेटवार्ता गरेका छन्।

महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागी हुनैपरेको बताए। प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर