१० असार २०८१, आइतबार

द्रुत बस सेवा चलाउन काठमाडौंका सडकमा बनाउन थालियो डेडिकेटेड बस लेन

  • २९ भदौ २०८०, शुक्रबार
Image

काठमाडौं- सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन सुरु गरिएको छ। काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि रेड मार्क गर्न थालिएको डिभिजन प्रमुख नारायण निहुँरेले बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संविधान दिवस ३ असोजदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए। मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात व्यवस्था विभागले काम सुरु गरेका छन्।

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बसहरु तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ। तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायक र सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ।

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशक सहितको टोलीलाई  ‘द्रुत बस सेवा’ सञ्चालन गर्न निर्देशन दिएका थिए।

‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि तयारी थियो। तर लामो वर्षातका कारण  सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन। तर बिहीबार साँझदेखि लाइन बनाउन थालिएको छ। विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग थालेको छ।  रत्नपार्कदेखि जडिबुटी र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाउन थालिएको छ।

बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएका हुन्। यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का विषयमा केही आशंकाहरु उब्जिएका थिए।

‘अब आशंका पाल्नुपर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ,’ मन्त्री ज्वालाले भने। अहिले बिहान र साँझ कार्यालयमा ‘द्रुत बस सेवा’ सञ्चालन हुने भएको छ। बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया

सम्बन्धित खवर