२ वैशाख २०८१, आइतबार

पार्टी कार्यकर्ता र जनतालाई धोका दिएर पदको पछि दौडिँदै गगन

  • १३ साउन २०८०, शनिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई पार्टीको भविष्यको रुपमा हेरिएको भए पनि उनका गतिविधि भने आफू बन्‍ने र पद प्राप्त गर्ने दौडमा मात्र रहेको देखिन्छ। गत मंगलबारदेखि बोलाइएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले महामन्त्री थापाको कार्यशैलीमाथि प्रश्‍न गरे, उनलाई आफूहरुले नेताको रुपमा मानेको भए पनि त्यो स्थान प्राप्त गर्न नसकेको गुनासो पनि गरे। 

पार्टीको १४ औं महाधिवेशनमा शेखरलाई सभापतिको उम्मेदवार बनाएर चुनाव लडेका महामन्त्री थापा उनै शेखरलाईसमेत बेवास्ता गर्दै जसरी पनि संसदीय दलको नेता बनिहाल्‍ने दाउमा देखिन्छ। उनले सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा पनि आफूले जसरी पनि संसदीय दल नेता बदल्न चाहेको बताए। सोमबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले आफू दल नेता बदल्न लागिरहने दोहोर्‍याएका पनि हुन्।

पार्टी नेतृत्व परिवर्तनको कुरा किन उठाएको भन्नेलाई जवाफ दिँदै थापाले भने, ‘मैले संसदीय दल नेता परिवर्तन गर्न खोजेको हुँ, सकिनँ। तर म अब पनि लागिरहन्छु।’

पार्टीको महामन्त्री कांग्रेसको विधान अनुसार संगठन विभाग प्रमुख हुन्छ। महामन्त्री थापाले बैठकमा पार्टीको संगठनलाई कसरी चलायमान गराउने, संगठन सुधार गर्ने र बलियो बनाउने कुनै खाका दिएनन्। उल्टै उनले आफूमाथि प्रश्‍न गर्ने केन्द्रीय सदस्यमाथि आक्रोश व्यक्त गरे। 

पार्टीको विधानले केन्द्रीय कार्यालय नै महामन्त्री मातहत रहने व्यवस्था गरिदिएको छ। १२ वटा अधिकार दिएर महामन्त्रीलाई कार्यकारी भूमिका दिइएको भए पनि थापाले पार्टी र विधान अनुसार आफूले गर्ने कामको फेहरिस्त बताउनुपर्ने भए पनि उनले भने आफू जसरी पनि संसदीय दलको नेता बन्‍ने र अवसर आउँदा प्रधानमन्त्री बन्‍ने दाउ मात्रै हेरेको देखिन्छ।

जनताहरु निराश भएको बताए पनि त्यसका लागि आफूले पार्टी संगठनलाई कसरी परिचालित गर्ने भन्‍ने कुनै खाका दिन सकेनन्। महामन्त्रीले केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी विधानले दिएको छ। 

त्यसैगरी दैनिक कार्यसञ्चालनका लागि सभापतिलाई सहयोग पुर्‍याउने तथा महत्वपूर्ण विषयमा सभापतिलाई जानकारी र सुझाव दिने काम पनि महामन्त्रीको रहेको र पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टी सम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने, गराउने जिम्मा पनि महामन्त्रीलाई नै दिइएको छ। 

यति धेरै अधिकार दिएको अधिकार सम्पन्‍न महामन्त्रीले आफूले प्राप्त गरेको जिम्मेवारीलाई बेवास्ता गर्दै त्यसभन्दा माथिको पद जसरी पनि हत्याउने खेलमा थापा लागेका देखिन्छन्। केही वर्षअघि पार्टी कार्यकर्ता, जनतालाई केन्द्रमा राख्‍नुपर्ने, गुट अन्त्य गर्नुपर्ने महामन्त्री थापा अहिले आफू र आफू निकटलाई च्याप्‍ने र बलियो गुट बनाउने खेलमा लागेका देखिन्छन्। 

त्यसकारण महामन्त्री थापाले आफू पदमा आएपछि सम्पूर्ण जिम्मेवारी र गरेका प्रतिबद्धता बिर्सिएर भाग खोज्‍ने र नभए खोस्‍ने दाउमा लागेर उनीप्रति विश्वास गरेका कार्यकर्ता र जनतालाई धोका दिइरहेका छन्। उनका यस्ता गतिविधिले पार्टी राजनीतिप्रतिको मानिसहरुको वितृष्णा बढ्दै गएको भन्दै केन्द्रीय समितिमा नै महामन्त्री थापाको आलोचना भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर