१० असार २०८१, आइतबार

रहेनन नेपाली रक स्टार रविन दाई

  • २० असार २०८०, बुधबार
Image

काठमाडौं:चर्चित नेपाली रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो। प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक दिपेन्द्र चन्दका अनुसार मंगलबार साँझ ६ बजे प्रहरी कन्ट्रोलमा फोन आएपछि प्रहरी निरीक्षक चन्दसहितको टोली उनको घरमा पुगेको थियो।

'उहाँ माथिल्लो तलामा बस्नुहुने रहेछ। दुई तलाको घर हो। बाहिरबाट मुख्य गेट पनि बन्द नै थियो,’ घटनास्थल पुगेका प्रहरी निरीक्षक चन्दले भने, 'हामीले बाहिरबाट भर्‍याङ लगाएर झ्यालबाट हेर्‍यौं। खाटको छेउमा घोप्टो परेर सुतेको अवस्थामा हुनुहुन्थ्यो।’

रविन लडिरहेको देखेपछि बचाउन सकिन्छ भनेर ढोका फोडेर प्रहरी र आफन्त कोठामा पसेको उनले बताए।

'तर शव हेर्दा चिसो भइसकेको थियो,' उनले भने, 'घटनास्थलमा शंकास्पद केही पनि छैन। खाट र कोठा सबै सफा नै थियो। मुख्य गेट, माथिको ढोका पनि बन्द नै थियो। शंकास्पद केही पनि छैन।'

उनको मृत्युको कारणबारे पोस्टमर्टमबाट खुल्ने उनले बताए। पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।

रविनले थुप्रै चर्चित गीत गाउनुका साथै फिल्ममा समेत अभिनय गरेका छन्। उनी पछिल्लो समय फिल्म 'छड्के' मा देखिएका थिए। उनका 'चिसो चिसो हावामा', 'जति माया लाए पनि', 'भुलमा भुलियो' लगायत गीत चर्चित छन्। छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन्। उनी युवा पुस्ताले रुचाएका गायक थिए र सबैले रबिन दाई भनेर बोलाउने गर्थे


प्रतिक्रिया

सम्बन्धित खवर