काठमाडौं- भारतको महाराष्ट्रस्थित मुम्बई-नागरपुर एक्सप्रेसवेमा एक बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ गईरहेको २९ बीई १८१९ को बसको टायर फुटेर चालकको नियन्त्रणबाहिर गएको थियो।
त्यसपछि एक पोलमा ठोक्किँदा बसमा आगो लागेको थियो। बसमा ३३ जना यात्रु सवार थिए। बुलढानाका प्रहरी उपरीक्षक सुनिल कडासानेले तीमध्ये २५ जनाको मृत्यु भएको पुष्टि गरे। पोलमा ठोक्किएपछि बसको डिजेल ट्यांकी विस्फोट भएको थियो, त्यसपछि स्पार्कका कारण बसमा आगो लागेको थियो। आगलागीका कारण अधिकांशको जलेर मृत्यु भएको हो।
दुर्घटनामा बाँचेका केही यात्रु सिसा तोडेर बाहिर निस्कन सफल भएको कडासानेले बताए। मृतकहरूको सनाखत हुन सकेको छैन। घाइते यात्रुहरुको बुलढाना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै घटनास्थलमा प्रहरीसहित उद्धार टोली पुगेको थियो। दमकलले बसको आगो निभाएको छ। मृत्यु भएका यात्रुको शव बाहिर निकालेर थप अनुसन्धान भइरहेको बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation