काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छन्। मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय जानकारी दिने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने काम मात्रै भएको बताइन्।
'सरकार ढल्ने हल्ला मैले सुनेको छैन। सरकार ढल्नुपर्ने कारण केही छैन। सरकार राम्रोसँग चलिरहेको छ,' उनले भनिन्, 'सरकारले सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको छ। यस्तो बेलामा हल्ला चलेको छ भने अफवाह हो।’
वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको उनको भनाइ छ । मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कामय गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै भएको शर्माको दाबी छ।
'सरकारले सुशासन कायम गर्ने भ्रष्टाचारका विरुद्धमा लड्ने भन्ने प्रतिबद्धता गरेको छ । प्रतिबद्धताअनुसार काम अघि बढाएको छ,' शर्माले भनिन्, 'भ्रष्टाचार गर्नेहरू तल्लो र माथिल्लो तह भन्ने हुँदैन । भ्रष्टाचार कुन तहकाले गर्यो भन्ने भन्दा पनि भ्रष्टाचार गर्यो की गरेन भन्ने कुरा मुख्य हो।'
मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा प्रक्राउ गरिएको जानकारी दिइन्। ‘सरकारले बालुवाटार जग्गा प्रकरणमा छानबिन गर्नु हठात हुँदैन। यस्तो कुरामा गहिरो अध्यनन अनुसन्धान हुन्छन्। प्रमाण पुर्याउनुपर्ने हुन्छ हठात भन्ने कुरा हुँदैन,' शर्माले भनिन्, 'यो लामो समयदेखि अनुसन्धानमा थियो । केही व्यक्तिहरू पक्राउ परेको कुराहरू आएको छ।'
सरकारले अनुसन्धान कुन तहसम्म पुर्याउने भन्दा पनि अनुसन्धानले जहाँ पुर्याउँछ त्यहाँसम्म पुग्ने उनको भनाइ छ। 'भ्रष्टाचारको मुद्दामा सरकार कुन तहमा जाने नजाने भन्ने भन्दा पनि जसको विरुद्धमा प्रमाण पुग्छ । जसलाई अनुसन्धानले प्रमाण पुग्ने देख्छ। उनीहरूमा आकर्षित हुने हो। कहाँसम्म पुग्छ भन्दा पनि अनुसन्धानले कहाँ पुर्याउँछ भन्ने कुरा हो,' शर्माले भनिन्।
बालुवाटार जग्गा प्रकरण लामो समयदेखि अनुसन्धानले प्रमाण पुर्याएको आधारमा सरकार अघि बढेको उनको भनाइ छ। अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए कारबाहीको दायरामा सरकारले ल्याउने शर्माको भनाइ छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation