१० असार २०८१, आइतबार

हरिकृष्ण कार्की : ओलीको महान्यायाधिवक्तादेखि प्रधानन्यायाधीशसम्म

  • ३ असार २०८०, आइतबार
Image

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अंगका प्रमुखहरू,  न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षाप्रमुखहरुको उपस्थिति थियो।

यसअघि शुक्रबार नै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।

विसं २०७८ फागुन १ गते तात्कालिक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग दर्ता भएयता सर्वोच्च अदालत कायममुकायम प्रधान न्यायाधीशको नेतृत्वमा छ।

गत वर्ष असोजबाटै कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की झन्डै ५० दिन मात्र प्रधानन्यायाधीश बन्ने छन् भने उनले करिब १७ दिनमात्रै इजलासमा बस्‍न पाउने भएका छन्। 

प्रधानन्यायाधीश बन्नुअघि उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त भएका थिए।

अनुभवी कानुन व्यवसायीहरूबाट पनि सर्वोच्च अदालतका न्यायाधीश नियुक्त हुने व्यवस्था छ। कार्की पनि नेपाल बार असोसिएशनको सिफारिसमा कानुन व्यवसायीको कोटाबाट न्यायाधीश नियुक्त भएका थिए।

नेकपा एमालेका नेता अग्नि खरेल कानुनमन्त्री रहेको समयमा कार्की न्यायाधीश नियुक्तिको सिफारिसमा परेका थिए। कानुनमन्त्री न्यायाधीश नियुक्तिको सिफारिस गर्ने निकाय न्यायपरिषद्को सदस्य हुन्छन्।

कार्की कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार असोसिएशन र कानुन व्यवसायीहरूको नियमन गर्ने निकाय नेपाल बार काउन्सिलका अध्यक्ष समेत भइसकेका छन्।

लामो समय अधिवक्ता रहेका कार्कीलाई तात्कालिक केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ असोजमा महान्यायाधिवक्ता नियुक्त गरेका थिए।  महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुन्छ।

यसअघि नेकपा एमालेका प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस विवादित भएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। तात्कालिक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उक्त मुद्दामा सुनुवाइका लागि गठन गरेको संवैधानिक इजलासमा कार्कीलाई पनि राखिएको थियो।

तर कार्कीको पृष्ठभूमिबारे कतिपय कानुन व्यवसायीहरूले प्रश्न उठाएपछि उनले उक्त इजलासमा नबस्ने निर्णय लिएका थिए। कार्की विसं २०१५ साउन २० गते ओखलढुङ्गामा जन्मिएका हुन्। उनले कानुनमा स्नातक गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर