१० असार २०८१, आइतबार

मानवअधिकारका विषयमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

  • १२ जेठ २०८०, शुक्रबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानवअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले सुसंस्कृत समाज विकास गर्न सरकार निरन्तर लागिरहने स्पष्ट पारे।

“मानवअधिकारको दृष्टिले उत्कृष्ट मानिएको नेपालको संविधान कार्यान्वयनका लागि सरकार क्रियाशील रहँदै आएको छ। संविधान जारी भएपश्चात् मौलिक हकको कार्यान्वयन, आर्थिक, सामाजिक, सांस्कृतिकरुपान्तरणमा सरकारले प्राथमिकता दिँदै आएको छ” प्रधानमन्त्री प्रचण्डले भने।

संविधानमा उल्लेखित मौलिक हकको कार्यान्वयन लागि आवश्यक अधिकांश ऐन जारी भइसकेको र केही विचाराधीन विधेयक पारित गर्न सरकार प्रयासरत रहेको प्रधानमन्त्री प्रचण्डले बताए। आयोगका सिफारिस कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिव स्तरीय समिति बनाउने क्रममा रहेको समेत उनले जानकारी दिए।

आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न सरकार सदैव तत्पर रही संस्थागत सुदृढीकरण, राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधनको विषयलाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री प्रचण्डले बताए।

आयोगले नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पुरा गर्दै आएको छ। विश्वव्यापी आवधिक समीक्षा, सन्धि समितिका प्राप्त सुझावको कार्यान्वयन गर्न कानुनमा परिमार्जन वा नयाँ कानुन निर्माणलगायत गर्नुपर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको उनले बताए।

मानवअधिकार गम्भीर उल्लङ्घन भएका घटनालाई सम्बोधन गर्नुपर्छ भन्ने मान्यताका साथ शान्ति प्रक्रियालाई छिट्टै टुङ्गोमा पुर्याउन राजनीतिक सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। पीडितलाई न्यायको अनुभूति हुने र अन्तर्राष्ट्रियता अनुकरणीय हुने गरी शान्ति प्रक्रिया टुङ्गाउने उनले दाबी गरे। 

प्रतिक्रिया

सम्बन्धित खवर