काठमाडौं- नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संसदीय समितिहरूको भागबन्डामा सहमति जुटेको छ। सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको बैठकमा समितिको भागबन्डा भएको हो।
प्रमुख प्रतिपक्षी दल एमालेले पनि एउटा विशेष समिति र अरु दुई गरी तीनवटा समितिको नेतृत्व पाउने भएको छ। एमालेले प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये सार्वजनिक लेखा समिति र अर्को कुनै समिति पाउने छ। कुन समिति एमालेले पाउने भन्नेबारे भने पछि तय हुने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए।
संसद्का दुई विशेष समितिमध्ये राज्यको निर्देशक समिति एमालेले पाउनेछ भने संसदीय सुनुवाइ समितिको नेतृत्व कांग्रेसले गर्ने छ। 'संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले प्राप्त गर्ने, राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व समितिको नेतृत्व नेकपा एमाले गर्ने छ,' गिरीले भने ।
प्रतिनिधिसभाबाट गत चैत १९ मा पारित नियमावलीअनुसार प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा गरी १० वटा समिति रहनेछन्।
अन्य समितिको नेतृत्वमा सत्तारुढ दलले आ-आफूले भागबन्डा मिलाउनेछन्। संसदीय सुनुवाइ समितिमा कांग्रेस र एमालेका ४/४ सदस्य हुनेछन्। अन्य सदस्यहरुमा माओवादी, रास्वपा, राप्रपा, जसपाका सदस्य रहनेछन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation