१० असार २०८१, आइतबार

दर्शकदीर्घामा प्रधानमन्त्री, अध्यक्षको नाच र साहित्य महोत्सव !

  • २ वैशाख २०८०, शनिबार
Image

काठमाडौं- जनताको नजिकको सरकार उपनाम पाएका पालिकाहरूको ध्यान भौतिक पूर्वाधारतिर मात्र होइन, स्थानीय पहिचान र कला साहित्यतिर पनि आकर्षित हुन थालेको छ।

कतिपय पालिकाहरू आफैँले कलाका महोत्सवहरू आयोजना गर्छन् त कति पालिकाले आर्थिक सहयोग उपलब्ध गराएर स्थानीय साहित्यिक संस्थामार्फत कार्यक्रम आयोजना गर्छन्।

पालिका नेतृत्व तीन प्रकारका देखिन्छन्। पहिलो : साहित्यकार तथा संस्कृतिकर्मीका कुरा सुन्छन् र स्थानीय पाठ्यक्रम निर्माणका लागि त्यसको सदुपयोग गर्छन्।

दोस्रो : बजेट छुट्याउँटन्। पैसा दिएकै छौँ, कसलाई बोलाउने हो बोलाऊ, तिमीहरू आफैँ कार्यक्रम गर भन्छन् र पन्छिन्। तेस्रो : केहीलाई कला साहित्य भन्ने हुन्छ र त्यसको विकासमा मानवीय संवेदना र पहिचान छ भन्नेसम्म हेक्का छैन।

तर कम्तीमा पनि ठुल्ठुला घर, सिमेन्ट, रड र ठेक्कापट्टाको कोलाहलभन्दा माथि सिर्जनाको सरगम छ र अन्नतः त्यही हो हाम्रो परिचय भन्ने बोध धेरैलाई हुन थालेको छ। यो बोधको मात्रा कम होला तर सघन हुँदै जानेछ एक दिन।

राजनीति र साहित्यको सम्बन्ध

यो बहसको गहिरो विषय हो। कति कविताले देश बन्दैन, किन चाहियो कविता भन्ने गलत भाष्यका रोगी पनि छन्। कतिपय नेता कार्यक्रम भनेपछि आफैँ सर्वेसर्वा हुनुपर्ने, आफैँ केन्द्रमा हुनुपर्ने र जाने पनि र नजाने पनि एक घन्टा गन्गन सुनाउनै पर्ने चिन्तनका छन्।

कसैको कविता विमोचनमा गयो भने उहाँ ठूलो कथाकार हो भन्ने र कसैको कथा विमोचनमा गयो भने यो कविता उत्कृष्ठ छ भनेर एक घन्टा भाषण दिने र फेरि भन्ने मैले पढेको त छैन। नपढेको भए एक घन्टा भाषण किन जोतेको त ? यो भन्दा ठूलो जोक के हुन्छ ? यो नजान्ने रहेछ भन्लान् भन्ने भय र कुन्ठाको प्रदर्शन हो। मूल कुरो यो हो कि जो साहित्यिक हुन्छ वा पढ्छ साहित्यले उसको विवेक बढाउँछ।

जसको विवेक बढ्छ ऊ जिम्मेवार हुन्छ । जो जिम्मेवार हुन्छ उसले कर्तव्य पूरा गर्छ। जसले कर्तव्य पूरा गर्छ, विकास त्यहीँबाट शुरु हुन्छ। साँच्चै जिम्मेवारीपूर्ण विकास गर्ने हो भने पठन संस्कृति बढ्न जरुरी छ र राजनैतिक नेतृत्व खोज्नेले पढ्न झन् जरुरी छ।

एउटा पुरानो सम्झना

सन्दर्भः माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला। कार्यक्रम थियो उनका पिता मङ्गलकुमार उपाध्यायाको पुस्तक विमोचन। दर्शकदीर्घाको अघिल्लो लहरमा थिए प्रधानमन्त्री नेपाल। उद्घोषक रहेका साहित्यकार तथा राजनीतिज्ञ

प्रदीप नेपालले भने, ‘आज यस कार्यक्रममा लेखकका छोरा माधव नेपाल पनि उपस्थित हुनुहुन्छ र संयोगले उहाँ प्रधानमन्त्री हुनुहुन्छ तर प्रधानमन्त्रीको हैसितमा होइन, पिताको पुस्तक विमोचन समारोहमा छोराको हैसियतले उपस्थित हुनुभएको हो। उहाँलाई यथास्थानमा आसनग्रहण गर्न अनुरोध गर्दछु र यस समारोहमा प्रमुख अतिथिको आसन ग्रहण गर्न राष्ट्रकवि माधव घिमिरेज्यूलाई अनुरोध गर्दछु।’

राष्ट्रकविको थर्थराउँदो शरीर मञ्चमा नपुगेसम्म लामो ताली बजिरह्यो र माधव नेपाल मुस्कुराइरहे। यो विरलै हुनेजस्तो लाग्ने घटना हो। कुनै प्रधानमन्त्री आफू प्रधानमन्त्री भएकै बेला तल दशकदीर्घामा बसेर कुनै कविलाई त्यो उचाइ दिन तयार भएको संभवतः यो पहिलो घटना हो। आज कुनै पालिकाका प्रमुखसमेत म प्रमुख अतिथि हुन पाउन्न भने तेरो साहित्यिक संस्थालाई पैसा पनि दिन्न र आउँदा पनि आउन्न भन्छन्। सोचको दरिद्रता !

तर समयले कोल्टे फेर्दैछ। राजनीति र सर्वत्र राजनीतिमात्र देख्ने सोच अचेल भने कम हुँदै गएको पाइन्छ। कतिपय साहित्यिक महोत्सव तथा समारोहहरूमा पुग्दा राजनैतिक नेतृत्वले कला साहित्य राजनीतिभन्दा माथि छ र यो राज्यको मूल प्रवाह हो भन्ने बोध गरेको देखिन्छ।

राजनीति नीति निर्माण हो, राजनीति नियामक शक्ति हो र राज्यको अविभावकीय दायित्व राजनीतिसँगै छ तर राजनीति त्यतिबेरसम्म कङ्काल मात्र हुन्छ जतिबेलासम्म राजनीतिमा कला, साहित्य र संस्कृतिको प्राण भरिन्न ।

देशको मूल पचिान शासन व्यवस्था पनि हो तर शासन व्यवस्थ मात्र होइन। देश हुनुको सारमा देशको पहिचान हो देश, देशको बहुल स्वरूप हो। महाङ्काल गाउँपालिका ललितपुरका अध्यक्ष गणेश केसी र ललितपुर जिल्ला समन्वय समितिका संयोजक ऋषिदेव फूयालले आफ्नो बीचमा एकजना साहित्यकारलाई प्रमुख अतिथि बनाएर साहित्यिक महोत्सव सञ्चालन गरे र साथमै राखे पालिका परिवार र भने, तपाईँ साहित्यकारबाट हामी जीवन र यसको रहस्यबारे केही सिक्न चाहन्छौँ।

महाङ्काल कला साहित्य महोत्सव :

ललितपुरको कर्णाली भनेर चिनिने दक्षिणी ललितपुरको गोटीखेलमा पालिका र सुनगाभा साहित्य सदन मिलेर कला साहित्य महोत्सव गरे। महोत्सव दुई दिन चल्यो। पुस्तक तथा स्थानीय परिचय झल्कने स्मारिका विमोचन भए। साहित्यिक प्रतियोगिता तथा बहस भए। राजनीति र साहित्यलाई जोडेर पनि गम्भीर बहस भए।

स्थानीय आवश्यकता र संभाव्यताको खोजी गरे। स्थानीय उत्पादनको चित्राफुङा, ठेकीहर्पेआदिको प्रदर्शनी र वितरण भए। झाँक्री नाचदेखि सेलोसम्म लोकगीतदेखि हास्यव्यङ्ग्यसम्म प्रदर्शन गरिए र ती अधिकाँश प्रतिभा स्थानीय नै थिए। सुनगाभा साहित्य सदनको छानामुनि राष्ट्रियस्तरमा ख्याती आर्जेका अब्बल साहित्यकार छन्।

आख्यानकार तथा कवि रामसुन्दर के.सी. र गोपाल सन्जेलहरू, कविहरू रत्नविरही घिमिरे, शिव घिमिरेदेखि शिकारु राम, सावित्री न्यौपानै, शर्मिला दाहाल, कृष्ण दाहाल, मनोज दाहाल, शान्ति गोलेसम्म र यसै पटकको महोत्सवमा प्रथम भएकी पासाङ डोल्मा गोले तथा महोत्सवमै चारुसङ्ग्रह सार्वजनिक गरेका सीताराम घिमिरे । यी फरक पुस्ताका केही प्रतिनिधि हुन्। कृष्णकुमारी बमजनको सीप भरिएको चित्राफुङा पनि कुनै कविताभन्दा कमजोर थिएनन्।

किनबेचमा धुइरो थियो। तर यी भन्दा माथि महाङ्काल पाउँपालिकाका अध्यक्ष गणेश के.सी. र उपाध्यक्ष डोल्मामाया गोले दुवै दिन पुरै कार्यक्रममा बसे र सबैले भनेको सुने, टिपोट बनाए र आएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता प्रकट गरे। वडाका अध्यक्ष तथा पालिका प्रवक्ता जोनीकुमार न्यासुरको मन्तव्य र साहित्यबोध साहित्यका मै हुँ भन्नेहरुको भन्दा सुन्दर थियो।

५ नं का वडाध्यक्ष भूमिनन्द घिमिरे आफैँ कार्यक्रमका उद्घोषक तथा स्मारिका सम्पादन समितिका सदस्य थिए। झट्ट हेर्दा लाग्थ्यो पालिका आफैँ साहित्यिक संस्था त होइन ? संस्था नै त होइन तर ऊ साहित्यिक संस्थालाई माया गर्छ। माया गर्दैनथ्यो भने अध्यक्ष आफैँ किन गीत गाउन अघि सर्थे र ? उनले गीतमात्र गाएनन्, छमछम नाचे पनि । उनको कलामोह लोभ लाग्दो थियो। 

सिर्जनाको रङ र फेरिएको आकृति 

पछिल्ला केही समयदेखि यी र यस्ता केही कार्यक्रहरुलाई नजिकबाट हेरिहरेको छु र सकेसम्म उपस्थित भइरहेको छु। केही समयअघि रामेछापका केही पालिकाहरुले स्थानीय पाठ्यक्रम निर्माण प्रयोजनका लागि स्थानीय साहित्य र संस्कृतिमाथि बहस चलाएका थिए।

काभ्रेको नमोबुद्ध नगरपालिकाले भानुजयन्ती मनाउँदा त्यहाँका प्रमख कुन्साङ लामाले भनेका थिए- विकास त भोलि पनि गरुँला तर हाम्रो पहिचान सकियो भने यो विकासको के काम ? उनी दिनभरि साहित्यकारहरुसँग सँगै बसेर आनन्द अनुभूत गरिरहेका थिए।

दमक नगरकी उपप्रमुख रेगिना भट्टराई, सर्लाही नगर प्रमुख वासुदेव अधिकारी, नीलकण्ठ नगरप्रमुख भीम ढुङ्गानाहरू र यस्तै अरुहरुसँग एकै साहित्यिक कार्यक्रममा जोडिँदाका अनुभव उस्तै छन्।

केही हप्ताअघि गङ्गा जमुना गाउँपालिका धादिङका अध्यक्ष भक्तबहादुर लामाले कर्मचारीसहित पालिका परिवार, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी प्रमुख गौतम मिश्रलाई सँगै राखेर एउटा बन्दसत्र चलाए र भने राजनीति गर्ने र प्रशासकलाई साहित्य किन चाहिन्छ ? पुस्तक किन पढ्नुपर्छ ? यसको उत्तर दिन मलाई त्यत्ति सजिलो भएको थिएन। झापादेखि सर्लाही हुँदै धनगढीसम्म पुग्दाको लामो अनुभव शृङ्खलाबाट यी केही उदाहरणमात्र हुन् ।

बाह्र वर्षमा खोलो फर्कन्छ भन्छन्। म तेह्र वर्षमा दक्षिण ललितपुर गोटीखेल पुगेर फर्केपछि यी हरफ लेखिरहेछु। देवकोटाको जन्मशताब्दी वर्ष २०६६ मा त्यहाँ पुग्दाको विकटता अहिले कल्पना गर्न पनि सक्तिनँ। अहिले धेरै हदसम्म सुधार आएको छ। भौतिक विकास र स्थानीय सम्पदा संरक्षणले गति लिएको छ। सधैँ निराशा मात्र बाँढेर हुन्न। विश्लेषणका निम्ति वस्तुनिष्ठ हुनुपर्छ। 

सुनगाभा साहित्य सदन सञ्चालन गरिरहेका स्रष्टाहरू प्रारम्भिक दिनदेखि आजसम्म त्यत्तिकै सक्रिय छन्। अर्को पुस्ता तयार हुँदैछ र उनीहरु विस्तारै पुस्ता हस्तान्तरणको तयारीमा छन्।

सुनगाभा प्रकाशनको निरन्तरता, जटिल अवस्थामा पनि निरन्तर साहित्यिक कार्यक्रम, पुस्तक प्रकाशन, पाकाहरुको सम्मान र प्रतियोगितामार्फत नयाँहरुलाई स्वागत गर्ने कर्ममा उनीहरु सक्रिय छन्। छन्द साहित्यका लागि पनि विशेष छ र सुनगाभाको यो जमात देशकै लागि एउटा लोभ लाग्दो साहित्यिक जमात हो। तिनको कर्म साहित्य सेवाका लागि आफैँमा एउटा महाकाव्यजस्तो छ।

सुनगाभाले राजनैतिक नेतृत्वलाई जसरी विश्वासमा लिएको छ, यो सन्देश देशभरि जान जरुरी छ। अब साहित्यकारहरूले नेताहरुलाई गाली गरेर होइन, सँगै लिएर यात्रा गर्न आवश्यक छ र आलोचना पनि तिनको गुण दोषकै आधारमा गर्नुपर्छ।

आफूलाई लगाइदिएको खादा र मालाको तौलकै आधारमा विश्लेषण र मन्तव्य हुन थाल्यो भने राजनीतिज्ञले होइन, साहित्यकारले नै साहित्य मारिरहेका हुनेछन्। नेपाली भाषा पढाउँदैमा र कपाल फुलाउँदैमा आफूलाई ठूलो ठान्ने भूल कसैले नगरून्।


प्रतिक्रिया

सम्बन्धित खवर