१५ चैत २०८०, बिहिबार

मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत

  • २८ फागुन २०७९, आइतबार
Image

काठमाडौं- उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ। चालु आर्थिक वर्ष २०७९/८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ।

तर नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत पुगेको देखिएको हो।

गत आर्थिक वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति छ दशमलव २४ प्रतिशत थियो। राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति छ दशमलव १९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति नौ दशमलव २२ प्रतिशत छ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव २४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव ३९ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ।

त्यस्तै, मदिराजन्य पेयपदार्थमा आठ दशमलव ७८ प्रतिशत र मरमसलामा आठ दशमलव ०४ प्रतिशतले मूल्यवृद्धि देखिएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १५ दशमलव ५८ प्रतिशत र स्वास्थ्य क्षेत्रको १० दशमलव ३९ प्रतिशतले बढेको छ।

त्यसैगरी, घरायसी उपयोगका वस्तुको मूल्यवृद्धि नौ दशमलव ७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको नौ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ८१ प्रतिशतले बढेको छ। 

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा काठमाडौं उपत्यकामा आठ दशमलव ४७ प्रतिशत, तराईमा सात दशमलव ८२ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा सात दशमलव ९२ प्रतिशत मूल्यवृद्धि देखिएको छ।

गतवर्ष माघ महिनामा यी क्षेत्रमा क्रमशः पाँच दशमलव ४७ प्रतिशत, छ दशमलव ५० प्रतिशत, छ दशमलव ७१ प्रतिशत र पाँच दशमलव ९७ प्रतिशत मुद्रास्फीति रहेको थियो।

गत माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव ६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १० दशमलव ३४ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर