काठमाडौं- राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लाग्ने भएको छ। निर्वाचन आयोगका अनुसार आजबाट लागु भएको आचारसंहिता चैत ५ गतेसम्म लागु हुने छ।
'दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ,' आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ। आउँदो फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। निर्वाचनका संघीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन्।
राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।
आचारसंहिता कसलाई लाग्छ?
- नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
- प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
- संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
- सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
- सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,
- राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
- उम्मेदवार तथा उमेदवारको प्रतिनिधि,
- राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,
- सार्वजनिक पद धारण गरेको व्यक्ति,
- सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
- मतदाता
© Lok Kalam . Designed and Developed by Goldenmud Creation