काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको नागरिकता विवादबारेको रिट निवेदन हेर्दाहेर्दैमा राखिएको छ। बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएपनि जवाफी बहसको समय नभएकाले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।
बुधबार रिट निवेदक र विपक्षी तर्फका कानुन व्यवसायीको बहस सकिएको छ। लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता पुनः प्रातिका लागि प्रक्रिया नै नथालेकाले पदमुक्त हुने उनीहरुको जिकिर छ। रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तलेन नेपालको नागरिकता त्यागेर गएको भए पुनः प्राप्तिका लागि निवेदन दिनुपर्ने बताए।
लामिछानेको हकमा अर्को देशको पाउँदा नेपालको नागरिकता स्वतः खारेज भएको भन्दै उनले अर्को देशको त्यागेपछि नेपालको नागरिकता स्वतः कायम हुने उनको तर्क छ।
लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा बुधबार कायमुकामय प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा सदस्य रहेको संवैधानिक इजलासमा इजलासमा सुनुवाइ भएको हो। अब शुक्रबार रिट निवेदकको तर्फबाट जवाफी बहस हुनेछ।
लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिइ) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै सर्वोच्चमा छुट्टा–छुट्टै २ थान रिट निवेदन दर्ता भएका थिए।
अधिवक्ता रविराज बसौला समेत तथा युवराज पौडेलले दायर गरेको रिटमा शुक्रबार जवाफी बहस सुनेर फैसला लेख्न नभ्याएमा संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने सक्ने छ। यो मुद्दाले राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य र लामिछानेको सांसद तथा मन्त्री पदको निरन्तरता तय गर्ने छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation