१९ वैशाख २०८१, बुधबार

एमाले सांसद कोइरीलाई तत्काल पक्राउ गर्न गृहको निर्देशन

  • ६ माघ २०७९, शुक्रबार
Image

काठमाडौं- गृह मन्त्रालयले ज्यान मुद्दामा फरार भनिएका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई तत्काल पक्राउ गर्न मातहतका निकायलाई लिखित निर्देशन दिएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यसअघि नै उनलाई पक्रन निर्देशन दिएकोमा अझै उनी पक्राउ नपरेको भन्दै गृहले प्रहरी प्रधान कार्यालयलाई शुक्रबार पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

‘निज प्रतिवादीलाई कानुनबमोजिम पक्राउ गरी तत्काल कारबाही गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा जानकारी गराउँदछौँ,’ प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फरार सांसद कोइरीबारे संसद्मा समेत प्रश्न उठेको थयो। गृहमन्त्री लामिछानेले भने उनी कहाँ छन् भन्ने थाहा नभएकाले पक्राउ गर्न नसकिएको जवाफ दिएका थिए।  

कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ।



प्रतिक्रिया

सम्बन्धित खवर