९ कार्तिक २०८३, आइतबार

प्रदेश १ का सांसदको शपथ ग्रहण ११ गते हुने

  • ५ पुष २०७९, मङ्गलबार
Image

विराटनगर- प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित प्रदेश सांसदहरुको शपथ ग्रहण पुस ११ गते सोमबार हुने भएको छ। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलबार एक सूचना प्रकाशित गरी शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरुलाई अनुरोध गरेका छन्।

शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने सचिवालयले जनाएको छ। ‘शपथग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रतिसहित दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु,’ पराजुलीले जारी गरेको सूचनामा उल्लेख छ, ‘प्रदेशसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरो आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा ९२० तथा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम तीन दिन अगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन हुन समेत यो सूचना प्रकाशित गरिएको छ।’

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्ने छन्।

मण्डलले पनि सोही दिन साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्ने कार्यक्रम छ। प्रदेशसभाका अन्य सदस्यहरुलाई मण्डलले शपथ ग्रहण गराउने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर