९ कार्तिक २०८३, आइतबार

कम्युनिस्टहरुलाई हार स्वीकार्नै सकस

  • १३ मंसिर २०७९, मङ्गलबार
Image

काठमाडौं- मंसिर ४ गते सम्पन्‍न निर्वाचनको मतगणना लगभग सकिएको छ। प्रतिनिधि सभातर्फ १६० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना करिब अन्तिम चरणमा छ।

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा नेकपा एमालेका शीर्ष नेताहरु पराजित भएका छन् भने नेपाली कांग्रेसबाट पनि गृहमन्त्री बालकृष्ण खाणसहितका नेताहरुले हार व्यहोरे। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलगायतका नेताहरुले पनि यस निर्वाचनमा पराजित भएका छन्।

नेपाली कांग्रेसबाट पराजित नेताहरुले सहजै हार स्वीकार गर्दै लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएको र यसमा हार-जित स्वभाविक प्रक्रिया भएको प्रतिक्रिया दिएका छन्। तर, कम्युनिस्ट नेताहरुले भने आफू पराजित भएकोमा आक्रोश व्यक्त गर्दै एक-अर्कालाई तथानाम गाली गरिरहेका छन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएपछि पुन:मतदानको माग गरेका छन्। नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भएका नेकपा एमाले महासचिव पोखरेलले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन्।

एमाले महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, निर्वाचन विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको थियो। एमालेले भनेको छ, 'बुथ कब्जा गरेको, एमालेका प्रतिनिधि हटाएको र विपक्षी उम्मेदवारका प्रतिनिधिले फर्जी मतदान गरेको सम्बन्धमा बाजुरा जिल्लाका उम्मेदवारले निर्वाचन अधिकृतसमक्ष तत्काल निवेदन गरेको र ती स्थानमा स्वतन्त्र, निष्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्छ।’

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफ्नो हारलाई सहज स्वीकार गरेका छैनन्। उनले पनि धाँधली भएको आरोप लगाएका छन्।

त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो पार्टी पराजय भएको उल्लेख गर्दे अहिलेको निर्वाचन निर्वाचनजस्तै नभएको बताइरहेका छन्।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले त निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रलाई आफ्नो पदीय मर्यादालाई पनि ख्याल नगरी गालीगलौज गरेका छन्। उनले भनेका छन्, 'यो अनियमितता नै एउटा फ्याक्टर हो।

अर्को फ्याक्टर चैं गठबन्धन घटकभित्र मण्डले र द्रव्यपिशाच प्रवृत्तिका आत्मघाती र गैरजिम्मेवार तत्वहरु हुन् । तिनले अन्तर्घात गरे।' त्यसैगरी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि आफ्नो पराजयलाई सहजरुपमा लिएका छैनन्। उनले कांग्रेसमाथि आरोप लगाउँदै आफ्नो हारलाई अस्वभाविक भएको बताएका छन्।

उनले भनेका छन्, 'हामीलाई कांग्रेसीहरुले अन्तर्घात गर्‍यो। गठबन्धनमा धोका भएपछि हामीले पराजय व्यहोरेका हौं।' त्यसैगरी नेकपा एमालेका उम्मेदवारले हार्ने देखेपछि बाजुरामा कर्ण थापा र स्याङ्जामा पद्मा अर्यालले मतगणना नै रोकिराखेका छन्।

यसरी नेपालका कम्युनिस्टहरुलाई हार स्वीकार गर्न नै महाभारत भइरहेको छ। उनीहरुले जसरी पनि जित्‍नैपर्ने भन्‍ने मानसिकताका कारण हार स्वीकार गर्न समस्या भएको र लोकतान्त्रिक प्रक्रिया नै उनीहरुका लागि पाच्य नहुने राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर