३१ असार २०८१, आइतबार

प्रधानमन्त्री बन्‍न कांग्रेसभित्र आधा दर्जनको दौड, संसदीय दलमा देउवाको स्पष्ट बहुमत

  • १३ मंसिर २०७९, मङ्गलबार
Image

काठमाडौं- मंसिर ४ गते सम्पन्‍न निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिमतर्फ पुगिरहेको समयमा दलहरुले आगामी सरकार गठनको कसरत गरिरहेका छन्। नेपालको संविधान अनुसार सरकार गठनका लागि चारवटा विकल्प दिएको छ। जसमा पहिलो बहुमत ल्याउने दलको नेताले सरकारको नेतृत्व गर्ने, त्यो हुन नसके दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार गठन गर्नेलगायत रहेका छन्। 

अहिलेको निर्वाचन परिणाम हेर्दा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेका कारण दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार गठन हुने भएको छ। गठबन्धन गरेर चुनावमा होमिएको नेपाली कांग्रेसहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर नै सरकारमा जाने सम्भावना देखिएको छ। 

तर, सरकारको नेतृत्व कसले गर्ने भन्‍ने चर्चा भइरहेको छ। अहिलेको परिस्थिति हेर्दा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्‍ने सम्भावना प्रबल रहेको छ। यस परिस्थितिमा कांग्रेसमा संसदीय दलको नेतामा निर्वाचित हुने नै पार्टीले सरकारको नेतृत्व गर्दा प्रधानमन्त्री हुने प्रावधान रहेको छ। 

हाल नेपाली कांग्रेसमा प्रधानमन्त्रीको दौडमा सातजना रहेका छन्। उनीहरूले सरकार गठनमा सहकार्य गर्न सकिने अन्य दलका नेताहरूसँग पनि भेटवार्ता जारी राखेका छन्। अहिलेसम्मको चुनावी परिणामले कांग्रेस पहिलो दल बन्ने देखाएको छ। 

कांग्रेस नेताहरूले पार्टीमा दबाब बनाउन र आफ्नो पक्षमा निर्णय गराउन सत्तागठबन्धन दलका शीर्ष नेता र एमाले अध्यक्ष ओलीसँग भेट गरिरहेका छन्। सभापति देउवाले आफ्ना विश्वासपात्रमार्फत आन्तरिक रूपमा तयारी सुरु गरिरहेका छन्। देउवाले गठबन्धमा रहेका दलका शीर्ष नेतासँगको छलफल कायमै राखेका छन्। 

प्रधानमन्त्री देउवालाई दलको नेता हुँदै प्रधानमन्त्री बनाउने गृहकार्यमा उपसभापति पूर्णबहादुर खड्कालगायतका निकट नेताहरू लागेका छन्। त्यसैगरी तनहुँ १ बाट निर्वाचित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो दाबी राखेका छन्। सभापतिबाहेक उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर टेलिफोन सम्पर्कमा छन्। सोमबार पौडेलले एकीकृत समाजजादीका अध्यक्ष माधव नेपाललाई भेटेर छलफल गरेका थिए। पौडेल पार्टीका नेताहरूसँग पनि निरन्तर सम्पर्कमा छन्। नेता पौडेल आफूले सभापति देउवासहित अध्यक्ष प्रचण्ड र अध्यक्ष नेपालबाट सकारात्मक जवाफ पाएको दाबी गरे। 

महामन्त्री गगन थापाले पार्टीभित्रको छलफललाई तीव्र बनाएका छन्। उनले कांग्रेसबाहेकका दलका नेतासँग औपचारिक रूपमा छलफल गरेका छैनन्। थापाको सचिवालयले मोरङमा रहेका नेता डा. शेखर कोइराला काठमाडौं फर्किएपछि छलफल गरेर तयारीलाई तीव्रता दिने जानकारी दियो।

अर्कोतर्फ शेखरले पनि आफू नै आगामी प्रधानमन्त्री हुने दाबी गरिरहेका छन्। यसबाहेक निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पनि आफूनिकटसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्रीमा इच्छा राखेका पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग भेटेर छलफल गरिसकेका छन्। 

सबै नेताहरुले आ-आफ्नो दाबी राखे पनि संसदीय दलको नेता नै प्रधानमन्त्री बन्‍ने भएको हुँदा संसदीय दलमा सभापति शेरबहादुर देउवाको स्पष्ट बहुमत रहेको छ। सर्वसम्मत नेतृत्व चयन हुन नसकेको अवस्थामा संसदीय दलमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति दलको नेता हुनेछ। ६ जना प्रधानमन्त्री बन्ने रेसमा रहेकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम देखिन्छ। जसले दलको निर्वाचनमा बहुमत जुटाउन सक्छ उही संसदीय दलको नेता बन्नेछ। 

कांग्रेसले प्रत्यक्षमा अहिलेसम्म ५६ स्थानमा जित निकाल्ने सम्भावना छ। आइतबार मध्यरातिसम्मको मतगणनाअनुसार उसले ५३ स्थानमा जित निकालिसकेको छ भने तीन स्थानमा अग्रता लिइरहेको छ। यसमध्ये संस्थापन समूह अर्थात् सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट भनेर चिनिएका ३२ सांसद छन्। त्यस्तै, शेखर–गगन समूह भनेर चिनिएका २१ जना छन्। यस हिसाबले हेर्दा गगन कमजोर देखिन्छन्। 

संस्थापन पक्षका जितेका, अग्रता लिइरहेका र सम्भावित समानुपातिक सांसद

प्रत्यक्ष निर्वाचित (३२) : शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठोैर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, दीपक खड्का, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की 

अग्रता (३) : ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, महेन्द्र यादव

समानुपातिक (२२) :  शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला 

थिङ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन जागा, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि

इतर समूहका जितेका र सम्भावित समानुपातिक सांसद

प्रत्यक्ष (२१): डा. शेखर कोइराला, गगन थापा, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी र राजु थापा

समानुपातिक (११) :  वसन्त भट्टराई, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र  मैना रावल

बाजुरा र स्याङ्जा २ :  दुवै क्षेत्रमा निर्वाचन विवादका कारण स्थगित भएको छ।  स्याङ्जा २ मा उपसभापति धनराज गुरुङ र बाजुरामा सहमहामन्त्री बद्री पाण्डे उम्मेदवार छन्। दुवैजना इतर समूहका हुन्। उनीहरूले जित्ने र आफ्नो समूहको सांसद बढ्ने इतर समूहको आकलन छ।

प्रतिक्रिया

सम्बन्धित खवर