३१ असार २०८१, आइतबार

ढुक्क भएर मताधिकार प्रयोग गर्न गृह मन्त्रालयको आग्रह

  • २ मंसिर २०७९, शुक्रबार
Image

काठमाडौं- गृह मन्त्रालयले मंसिर ४ गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेको छ। भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जो कोहीमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ।

निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पुर्‍याउने व्यक्ति दल/समूह र संगठनमाथि कडा निगरानी राखिएको बताए।

उनले भने, ‘विगतभन्दा धेरै राम्रो निर्वाचन सुरक्षा व्यवस्था गरेका छौं। सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु।’ मन्त्रालयको सुरक्षा तयारीबारे जानकारी दिँदै उनले भने, ‘केही दिनयता केही हिंसात्मक गतिविधिहरू देखिएका छन्। यस्ता खालका गतिविधिमा संलग्न व्यक्ति, समूह र संगठनप्रति हामी ‘शून्य सहनशीलता’मा छौं । हामीले सूक्ष्म अनुगमन र कडा निगरानी गरिरहेका छौं।’

प्रवक्ता सिंहका अनुसार मतदान केन्द्र नजिक ९०३ स्थानमा नेपाली सेनाको बम बिस्फोटक टोली खटाइएको छ। इजाजत प्राप्त र अवैध २ हजार २५ थान हातहतियार संकलन भएको छ।

४० वटा स्थानमा हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने व्यवस्था गरिएको छ। नेपाली सेनाको हेलिकप्टर इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा राखिएको छ भने हवाई गस्ती समेत गरिरहेको छ।

गृह मन्त्रालयका अनुसार देशभर अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ जनशक्ति परिचालित भएका छन्। मतदानस्थलको संवेदनशीलता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर