९ कार्तिक २०८३, आइतबार

कामको थकान र चिसोको पर्वाह नगरी मध्यरातसम्म पनि एनपीलाई कुरिरहन्छन् जनता

  • २६ कार्तिक २०७९, शनिबार
Image

कञ्‍चनपुर (गुलरिया)- आगामी पाँच वर्ष यो मुलुक सञ्‍चालनको जिम्मा कसलाई दिने भन्‍ने फैसला हुँदैछ। त्यसका लागि जनताले आफ्ना क्षेत्रमा उठेका उम्मेदवारको राजनीतिक छवि, केन्द्रीय नेतृत्वमा पुग्‍नसक्ने क्षमता, विगतमा गरेका कामहरु, बोली र व्यवहारबीचको समानता र जनताप्रतिको उत्तरदायित्वलाई मूल्यांकन गरिरहेका छन्। 

एकपटक गरेको मतदानले पाँच वर्षको फैसला गर्ने भएकोले निकै विवेकपूर्ण ढंगले जनताले मतदान गर्ने अपेक्षा गरिएको छ। यसरी जनताले पाँच वर्षका लागि आफ्नो प्रतिनिधि बनाएर नीति निर्माण र कार्यान्वयन गर्ने ठाउँमा कसलाई पठाउने भन्‍ने फैसला गर्न केवल एक सातामात्र बाँकी छ। एक सातामात्र बाँकी रहँदा उम्मेदवारहरुलाई भने जनतासमक्ष पुग्‍न भ्याइ-नभ्याइ छ। 

तर, कञ्‍चनपुर-२ को दृश्य भने फरक छ। विगत पाँच वर्षमा स्थिर सरकार, आर्थिक समृद्धि र विकासको नारा ल्याएको जनताको घरदैलोमा पुगेको वाम गठबन्धन तथा नेकपा एमालेका नेता नरबहादुर धामीलाई जनताले आफ्नो प्रतिनिधि छाने। धामी निर्वाचित भएसँगै काठमाडौं गए। तर, जनतासमक्ष फर्किएर आएनन्। स्थिर सरकार, आर्थिक समृद्धि र विकासको सपना देखाएर गएको एमालेले न त स्थिर सरकार बनाउन सक्यो, न विकास र समृद्धिको वाचा नै पूरा गर्न सक्यो। 


अरु त परको कुरा जीवन र मृत्युको सवालमा पनि नेकपा एमालेबाट जितेका सांसद् धामीले जनतालाई कुनै पर्वाह गरेनन्। चाहे कोरोनाको कहरमा होस् अथवा बाढी र डुबानको बितण्डामा नै किन नहोस्। जिताएर पठाएका जनप्रतिनिधि धामी काठमाडौंमा रमाइरहँदा आफूले पराजित गरेका एनपी साउद पनि आफू कोरोना संक्रमित हुँदा अस्पतालको बेडमा प्राणवायु (अक्सिजन) लिएर पुगे। तब जनतालाई ग्लानी भयो आफ्नै निर्णयप्रति र संकल्प गरे- यसपटक एनपी साउदलाई नै मत।

परिणाम अहिले धामीलाई चुनावी सभामा मान्छे जुटाउन सकस भइरहेको छ। चुनावी सभामा आफ्नै पार्टीका कार्यकर्ताले धामीसँग विगत पाँच वर्षमा गरेका कामको हिसाब मागिरहेका छन्। तर, धामी भने विगतमा के गरे भन्‍ने आफैं अलमलमा छन्। रनभूल्‍लमा परेका पार्टीकै कार्यकर्ताले थप प्रश्‍न गर्छन्- अब तपाईंलाई किन मत दिने? तब धामी गम्भीर बन्छन् र मत दिनुहोला भन्दै अमिलो अनुहार लिएर फर्किन्छन्।

जनताको सहभागीता नदेखेपछि निराश बन्दै धामी फर्किरहँदा चुनावी मैदानमा होमिएका अर्का उम्मेदवार एनपी साउदको चुनावी सभा भने मध्यरातसम्म पनि जारी रहन्छ। कारण ! जनताले विगत पाँच वर्षमा गरेको कामको मूल्यांकन हो। 


चाहे कोरोना कहरमा मास्क, स्याइनिटाइजर, अक्सिमिटर, अक्सिजन अथवा अक्सिजन कन्सनट्रेटर पुर्‍याउने कुरा होस्, अथवा बस्ती-बस्तीमा संक्रमित बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स पठाउने कुरा होस्। अथवा लकडाउनको त्यो कहरमा ज्यादा मजदुरी गर्न नपाउँदा खानाकोसमेत समस्या भएको समयमा खाद्यान्‍न बोकेर जनताको दैलो-दैलो चहार्ने कुरा नै किन नहोस्, जनताको साथमा उभिए- एनपी साउद र भरोसा दिलाए अभिभावक भएको। 

पार्टी र जनताका विकासका मुद्दा लिएर काठमाडौं आएको समयमा गाउँमा बाढी-डुबान परेको सुन्दा तुरुन्तै त्यस क्षेत्र पुगेर जनताको घाउमा मलम लगाउन, आफ्ना जनताको अडेस लगाउने भित्ता बन्‍न साउद उभिँदा जनताले २०७४ मा गरेको निर्णय गल्ती भएको महसुस गर्दै प्रण गरेका छन्- आफ्नो मत सुख-दु:खका सारथी एनपी साउदलाई नै दिने। 

नेपाली कांग्रेस र देशकै नेतृत्व गर्नसक्ने क्षमता भएका, जनताको सुखदु:ख साथमा उभिएर खुसी र पीडा साट्ने, राष्ट्रिय राजनीतिमा प्रभावशाली छवी बनाएका र सुदूरपश्‍चिमको विकासका लागि लागिरहने नेता साउदलाई आफ्नो समर्थन रहेको विश्‍वास दिलाउन जनता चिसो मौसमको पनि पर्वाह नगरी मध्यरातसम्म कुरिरहेका भेटिन्छन्। 

समय घर्किँदै जाँदा नेपाली कांग्रेसका नेता साउँदा हरेक जनतासम्म पुग्‍न आँतुर छन्- तर, भ्याइरहेका छैनन्। सबेर बिहानैदेखि अबेर रातिसम्म पनि जनतालाई भेट्न‍ धाइरहँदा जनताको माया र अपार समर्थनले साउद उत्साहित पनि छन्। अझै धेरैलाई भेट्न पाए हुन्थ्यो भन्‍ने पनि साउदको मनमा छ र दौडिरहेका छन्। चिसो र हरेक सभामा बोल्दा साउदको घाँटी ख्याप्प भएको छ, आवाज धोत्रो सुनिन थालेको छ। तर, जब जनताको अनुहारमा हेर्छन्, आफ्नो स्वास्थ्य समस्या पनि बिर्सिन्छन्। यो उनको स्वभाव हो। 


यसअघि कोरोना महामारीको समयमा आफू र परिवार संक्रमित भएर ढलेका बेला थियो। बिरामी भएर बेडमा सुतिरहेको समयमा समाचार देखे कञ्‍चनपुर अक्सिजन अभाव भएको। उनलाई छटपटी बढ्यो, आफू बिरामी भएर सुतेको पनि बिर्सिए र बिहानै अक्सिजन जोहो गरे हरेक अस्पतालमा पुगे प्राणवायु पुर्‍याइ र जनतालाई बचाए। उनी भन्छन्- म आज यहाँका जनताले बनाएर एनपी साउद भएको हो। यहाँका हरेक जनताको स्वस्थ भएपछि मात्रै स्वस्थ हुनसक्छु। 

उनी चुनावी सभामा भनिरहेका छन् - तपाईंलाई हिँड्‍ने सहज बाटो बनाइदिने, तपाईंको छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नसक्ने, तपाईं बिरामी हुँदा अस्पतालसम्म पुर्‍याइ दिने, तपाईंको सुखमा खुसी बनिदिने र दु:खमा आँशु पुछिदिनेलाई छान्‍नुहोस्। तपाईंले विगत पाँच वर्षमा भोगेको पीडा र लगाएको मलम सम्झिनुस् र विवेकपूर्ण निर्णय गर्नुस्। अनि चुनावी सभामा सहभागीहरुले गणगणाहट ताली बजाउँछन् र समर्थन जनाउँछन्। 

जनताका धेरै ठूला सपना र अपेक्षा छैनन्। उनीहरुले चाहेका छन्- आफ्नो जनप्रतिनिधिले बिरामी भएर उपचार गर्न नसक्दा मृत्यु रोज भनेर बेपर्वाह नछोडोस्, आफू अशक्त भएर छोराछोरीलाई पढाउन नसक्दा छोराछोरीको भविष्य अन्धकार नबोस्, हिँड्‍ने बाटो सहज भइदेओस्, आफूले उत्पादन गरेको कृषि उपज खेर नजाओस्। उनीहरुको गुनासो छ- विगत पाँच वर्षमा जनप्रतिनिधिविहीन बन्यौं। अब अभिभावक चाहेका छौं। 

यति कुरा सुनाउन र आफ्नो समर्थन रहेको विश्‍वास दिलाउन जनताले दिनभरको कामको थकान र चिसो मौसमको पर्वाह नगरी एनपी साउद आउने बाटोतिर आँखा डोर्‍याइरहन्छन्। साउद पनि दिनभरको दौडधुपको पर्वाह नगरी जहाँ-जहाँ जनता कुरिरहेको खबर पाउँछन्, त्यहाँ पुगिहाल्छन् र आफू अभिभावक बन्‍न तयार रहेको, जिम्मेवारी बोक्‍ने काँध दरिलो पारेको प्रतिबद्धता व्यक्त गर्छन्। अनि जनताले दिलाएको विश्वासलाई साथमा बोकी फर्किन्छन्, जनता पनि आफ्नो विश्वास दिएर घरतिर लाग्छन्। 

 

प्रतिक्रिया

सम्बन्धित खवर