१५ चैत २०८०, बिहिबार

कविको आँखामा कतार

  • १९ कार्तिक २०७९, शनिबार
Image

काठमाडौं- सरकारी आँकडा अनुसार कतारमा औपचारिक रुपमा कार्यरत ३ लाख ४४ हजार नेपाली छन्। नेपालमा रेमिट्यान्स पठाउने देशहरू मध्ये कतार पहिलो देश हो र कतारबाट मात्रै २२ प्रतिशत रेमिट्यान्सआउँछ।

यहाँको साहित्यिक गतिविधि सन् २००६ देखि नै सुरु भएको हो। त्यसयता निकै धेरै संघ संस्थाहरू खुलेका छन्। त्यहाँ देवकोटा जयन्ती, भानु जयन्ती, मोती जयन्ती, पारिजात जयन्ती तथा नयाँ वर्षका कार्यक्रमहरु नियमित रूपमा आयोजना हुन्छन्। सबै संघ संस्था उत्तिकै क्रियाशील त छैनन् तर केही प्रतिनिधि संस्थाहरू भने निकै सक्रिय छन्।

केही दिनअघि कतारमा देवकोटा जयन्ती सम्पन्न भयो। यस पटकको देवकोटा जयन्ती निकै सार्थक भएको आयोजकहरुले बताएका छन्। अनेसास कतार च्याप्टरका अध्यक्ष मणि पौडेलका अनुसार यो वर्ष कवितामात्र सुनिएन, कवितामाथि वृहत् बहस भयो। एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदाले भने- ‘यस पटकको कार्यक्रमबाट साथीहरूमा नयाँ साहित्यिक उत्साह बढेको छ।’ विदेशमा रहेका नेपालीहरूको दुई प्रतिष्ठित संस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कतार र गैर आवासीय नेपाली संघ (एनआरएन) कतारसहित कतारका स्थानीय संस्था अल्खोरको सन्ध्या ग्रुप मुगलानी सौगात र नवोदित वाचनालयले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरे। कार्यक्रमका प्रमुख अतिथि थिए- मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल। सामाजिक सञ्जालमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो। 

कार्यक्रममा लम्सालले आफ्ना गद्य र पद्यका लामा छोटा गरी ३० भन्दा बढी कविता सुनाए। कविताको सीमा र सामथ्र्यबारे बहस गरे। आफू किन कविता लेख्ने, कवितामा के लेख्ने र कस्ता कविता लेख्ने भनेर लम्सालले आफैँलाई पश्न गरे र उत्तर दिए। कार्यक्रम स:शुल्क थियो। मुग्लानमा कवि लम्साललाई सुन्न उनका श्रोता र पाठकहरु पैसा तिरेर आएका थिए। दौरा सुरुवाल र ढाका टोपीमा सजिएका लम्सालले छन्दका कविता वाचन गर्दा देश सम्झेर धेरैका आँखा रसिला थिए। लम्सालले अग्नि, धरा, कर्ण महाकाव्यका कविताहरुका साथै अन्य फुटकर प्रेम कविताहरु समेत सुनाएर दर्शकहरुलाई रोमाञ्चक बनाएका थिए।

डा. लम्सालको परिचय कवि, गीतकार र सञ्चारकर्मी हो तर पछिल्लो समय उनको परिचय थपिएको छ मदनपुरस्कार विजेता कवि नवराज लम्साल। उनले ‘अग्नि’ महकाव्यका लागि २०७८ सालको मदन पुरस्कार प्राप्त गरे। महाकाव्यमा मदन पुरस्कार, त्यो पनि ३२ वर्षपछि। मृतविधासम्म भनिएको र हराउनै लागेको महाकाव्य विधा भनिएको बेला महाकाव्यले यो उचाइ प्राप्त गर्नुलाई धेरैले सकारात्मक मानेका छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटापछि कुनै महाकाव्य जनस्तरमा यसरी लपक्क भिजेको संभवतः यो पहिलो पटक हो। लम्साल आफैँले म युवा पुस्ताले बनाएको कवि हुँ भनेका छन्। युवाहरूले ‘अग्नि’ खूब पढे र मन पराए पनि। कतारमा पनि नयाँ पुस्ता उनीसँगै निकै आकर्षित भएका थिए। औपचारिक कार्यक्रम सकिएपछि पनि त्यही ठाउँमा निकै लामो समयसम्म साहित्यिक सम्वाद र कविता वाचन चलिरह्यो। त्यसपछि पनि लन्च, डिनर समयलाई सदुपयोग गरेर साना साना ६ वटा जति कार्यक्रमहरु भए।

त्यसो त मदन पुरस्कारपछि नवराज लम्साल देशभित्र पनि खूब घुमे। गृह जिल्ला धादिङले उनलाई नागरिक अभिनन्दन गर्‍यो। सुदूर पश्चिम साहित्य समाज, कैलाली जनपुस्तकालय धनगढी, चितवन साहित्य परिषद् र लालबन्दी नगर वाङ्मय परिषद्ले ‘अग्नि’लाई वर्षको उत्कृष्ट पुस्तक घोषणा गरे। यही साहित्यिक रापताप बोकेर कतार पुगेका लम्सालले कतारका विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनले फेसबुकमा लेखेका छन्- ‘म एक हप्तापछि कतारबाट फर्केँ। देवकोटा जयन्तीको अवसर पारेर आयोजना गरिएको सुसभ्य र भव्य कार्यक्रम सकेर फर्केँ। औपचारिक कार्यक्रम एउटा भए पनि अन्य उत्सुक, औपचारिक कार्यक्रममा समय व्यवस्थापन गर्न नसकेका र साहित्यप्रति गहिरो रूचि भएका साथीहरूसँग अनौपचारिक रूपमा छ बटा जति सङ्क्षिप्त अन्तरक्रियात्मक बसाइ भए।’

आज धेरै नेपालीहरु संसारका धेरै देशहरुमा छरिएर रहेका छन्। उनीहरु जहाँ पुगेका छन् त्यहीँ केही न केही गरेकै छन् तर तिनको कर्महरुको यथेष्ट बहस र छलफल भएका छैनन्। विदेश गएकाहरू सबैले श्रम मात्रै बेचेका छैनन्, सीप, शिल्प, सामथ्र्य पनि प्रस्तुत गरेका छन्। ती सबै विषय बहसमा आउन जरुरी छ। डा. लम्सालका अनुसार बहसमा आउनैपर्ने केही तथ्यहरू यस्ता छन् :

१. साहित्यप्रतिको उनीहरूको गहिरो रूचि र चिन्ता। 

२. प्रकाशनप्रति चासो र उत्सुकता।

३. श्रमका अतिरिक्त त्यहाँको नीति निर्माण, व्यवसाय र सामाजिक गतिविधिमा नेपालीले देखाएका सक्रियता र उच्चस्तरको प्राप्ति।

४. नेपालका राजनैतिक दल, सामाजिक सङ्घ, संस्था र विकास निर्माणप्रति    तिनको चासो र संलग्नता।

५. आधुनिक विकासको मोडल र त्यो मोडलको प्रयोगमा नेपालीको प्रत्यक्ष संलग्नता।

६. संसारभर रहेका नेपालीका लागि नेपालले लिनुपर्ने नीति।

७. सरकारी कुटनैतिक कर्म र त्यसको प्रभाव।

८. नेपाली नागरिकले विदेशमा प्राप्त गरेका सीप र नेपालमा तिनको प्रयोग।

९. तिनले पठाएको रेमिटेन्सको जस्तै तिनकै बारेमा चाहिँ सम्बन्धितहरू कति  चिन्तिन छन्, कति चासो राख्छन्?

१०. तिनले त्यहाँ मनाउने पर्व, आयोजना गर्ने उत्सव, सञ्चालन गर्ने कार्यक्रम र   त्यसबाट नेपाली संस्कृति र नेपालीपनको विस्तारमा पुगेको योगदान।

प्राय: विदेश पुग्नेहरूमध्ये धेरैजसो समुद्रमा सेल्फी र रेष्टुरेन्टको फोटो फेसबुकमा हालेर रमाइरहेका जस्ता देखिन्छन् तर लम्सालले एउटा बहसको सुरुवात गरेका छन्। उनले लेखेका छन्- ‘धेरै आँखाहरूले तपाईँले गरेको श्रममात्रै देख्छ र त्यहाँ पुग्दै नपुगी त्यहाँको कथा बनाउँछ तर त्यहाँ उच्चस्तरका रचना गर्ने स्रष्टा छन्। त्यहाँ नेपाली डाक्टर छन्, सयौँ सङ्ख्यामा इन्जिनियर छन्, प्राध्यापन गर्नेहरू छन्, उपल्लो स्तरका व्यवसायी छन्, त्यहाँका नीति निर्माताहरूसँग कुम जोडेर बहस गर्न सक्नेहरू पनि छन्, सानै भए पनि आफैँले रोजगारी सिर्जना गरेर अरूलाई काम दिनेहरू छन्।’ 

कवि आँखाले देखेको र कवि मनले अनुभूत गरेको यो प्रसङ्ग बहसको नयाँ पाटो हुनसक्छ। कतार लगायत अन्य देशमा बस्ने नेपालीहरू आफैँले पनि यो भनाइको सार्थकता खोज्ने बेला आइसकेजस्तो छ तर डा लम्सालले कतारमै बस्नेहरूलाई पनि अनुरोधसहितका केही सुझाव दिएका छन्। उनको सुझाव यस्तो छ :

१. कतारमा मात्रै १ सय असी हाराहारी सङ्घ, संस्था रहेछन्। यतिका संस्थाहरूको जरुरत छ? यी सबै सक्रिय छन्? यिनीहरूले आफ्नै बारेमा कति बोल्न सकेका छन्?

२. धेरै आँखाहरूले तपाईँले गरेको श्रममात्रै देख्छ र त्यहाँ पुग्दै नपुगी त्यहाँको कथा बनाउँछ तर त्यहाँ उच्चस्तरका रचना गर्ने स्रष्टा छन्। त्यहाँ नेपाली डाक्टर छन्, सयौँ सङ्ख्यामा इन्जिनियर छन्, प्राध्यापन गर्नेहरू छन्, उपल्लो स्तरका व्यवसायी छन्, त्यहाँका नीति निर्माताहरूसँग कुम जोडेर बहस गर्न सक्नेहरू छन्, सानै भए पनि आफैँले रोजगारी सिर्जना गरेर अरूलाई काम दिनेहरू छन्। कतारमै खुलेका खोलिएका संस्थाहरूले तिनका बारेमा कुन तहको खोजी र बहस गरेका छन्?

३. धेरै संस्था धेरै कार्यक्रमको आयोजना। खर्च पनि धेरै र त्यो खर्च पनि नेपाली समुदायबाटै उठाउने हो।  कार्यक्रमहरू एकीकृत गर्न सके खर्चमा पनि बचत हुने र कार्यक्रमको प्रभावकारिता पनि बढ्ने थियो कि?

४. वैचारिक संस्था (दल सम्बद्ध) बनाएर पार्टी विशेषसँगको संलग्नताले दिएको सन्देश के हो? तपाईँहरू आफैँ सक्रिय सिर्जनशील हुन पाउनुभएको छ कि त्यहाँ पनि दल र तिनका नेता नै हावी भएका छन्? वा तपाईँलाई प्रयोग मात्र गरिरहेछन्?

५. तपाईँको आफ्नै उपस्थिति र कर्मलाई सहज बनाउने गरी यता पनि र उता आवाज उठाउन ककसले सहयोग गरेका छन्? देशभित्र आफ्नै सरकार, दल र नेतृत्वको अव्यवस्थापनले विकास र रूपान्तरणमा पछौटेपन आएको हो जस्तो लाग्छ भने फेरि पनि त्यही पछौटेपनलाई सहयोग पुर्‍याउने गरी कसैले तपाईँलाई शोषण त गरिरहेको छैन?


प्रतिक्रिया

सम्बन्धित खवर