१८ मंसिर २०७९, आइतबार

काठमाडौं- ६ : एमालेले कमजोर र विवादित उम्मेदवार उठाएपछि भीमसेनदासलाई ह्याट्रिक गर्न सहज

  • १३ कार्तिक २०७९, आइतबार
Image

काठमाडौं- आगामी मंसिर-४ गते हुने आम निर्वाचनमा काठमाडौं-६ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान उम्मेदवार बनेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट कमजोर र विवादित उम्मेदवार पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उठेका छन्। 

रक्षामन्त्री भइसकेका प्रधानले यस क्षेत्रबाट २ पटक जितिसकेका नेता हुन्।  काठमाडौंको राजनीतिका लागि उनी खेलाडी मानिन्छन्। खनाल नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन्। एमालेबाट पहिलोपटक राजनीतिक मैदानमा उत्रिएका उनलाई पनि आफू जित्‍नेमा विश्वास छैन। सो क्षेत्रमा प्रधान र खनालसहित २४ जनाको उम्मेदवारी परेको छ। राप्रपाबाट विष्णुप्रसाद आचार्य, विवेकशील साझा पार्टीका अजित खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल मैदानमा छन्।  

२०६४ को चुनावमा माओवादीका हिमाल कर्माचार्य विजयी हुँदा कांग्रेसका प्रधान दोस्रो, एमालेका योगेश भट्टराई तेस्रो भएका थिए। २०७० मा प्रधान विजयी हुँदा भट्टराई दोस्रो र कर्माचार्य तेस्रो भए। २०७४ मा वाम गठबन्धन हुँदा पनि प्रधानले जित हात पारे। २०६४ र २०७० मा हार व्यहोरेपछि भट्टराई गृहजिल्ला ताप्लेजुङ लागे।  

एमालेले नयाँ अनुहार मैदानमा उतारेको छ। ‘२०६४ सालदेखि हालसम्म अन्य पार्टीको उम्मेदवार परिवर्तन हुँदै आए। म निरन्तर छु। जनताले रुचाएका पनि छन्। कांग्रेसको सुरक्षित स्थान भएर अन्य दलका केन्द्रीय तहका नेता आए घाइते हुने भएर एमालेले नयाँ उम्मेदवार उठाएको छ,’ प्रधानले भने। २०७४ सालमा प्रधानले वाम गठबन्धनका झक्कु सुवेदीलाई हराएका थिए।

नव आगन्तुक खनाललाई उम्मेदवार बनाएकोमा एमालेभित्रै असन्तुष्टि छ। खनालको शैली राजनीतिक नभएको आरोप समेत लागेको छ। यो क्षेत्रमा एमालेले असुरक्षि ठानेर उम्मेदवारमा ट्रायल गरिरहेको छ। २०४८ सालमा पद्मरत्न तुलाधर, २०५६ मा भरत प्रधानलाई उम्मेदवार बनाएको थियो। 

कांग्रेस उम्मेदवार प्रधान राजनीति भनेको रिटायर्ड जीवन बिताउने ठाउँ नभएको बताउँछन्। ‘गैर राजनीतिक व्यक्ति जनतामा अनुमोदनका लागि पठाउनु राजनीतिक पार्टीमा कुसंस्कार हो। जीवनको रिटायर्ड लिनुपर्ने बेलामा राजनीतिमा आउनु राम्रो होइन। राजनीतिमा झन बढी सक्रियता चाहिन्छ,'  कांग्रेस उम्मेदवार प्रधानले भने, 'जसले जुन पेसा अपनाएको छ त्यही पेसा गर्न दिनपर्छ। राजनीति विश्राम लिने थलो होइन।’

खनाल नयाँ उम्मेदवार र राजनीतिमा नै नयाँ भएका कारण कमजोर त हुन् नै यससँगै उनी सांसद् अपहरण प्रकरणमा जोडिएको र महानिरीक्षक हुँदा पनि विभिन्‍न आरोपहरु लागेका कारण विवादरहित पनि हुन सकेका छैनन्। 

काठमाडौं ६ भित्र काठमाडौं महानगरका वडा नं २६, २७ र २८, टोखा नगरपालिकाका १, ८, ९, १० र ११ तथा तारकेश्वर नगरपालिकाका १, २, ६, ९, १० र ११ नं वडा पर्छन्। काठमाडौं क्षेत्र नं ६ मा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको आधारमा कांग्रेस अघि छ। कांग्रेसका वडाध्यक्षहरूले १७ हजार २ सय ७७ मत प्राप्त गरेका थिए। एमालेका वडाध्यक्षले १४ हजार ३ सय ३ मत प्राप्त गरेका छन्।

यस्तै, माओवादीका उम्मेदवारले २ हजार ४ सय ६२ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवारले १ हजार ८ सय ५९ मत प्राप्त गरेका थिए। राप्रपाका उम्मेदवारले १ हजार १६ मत ल्याएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर