१८ मंसिर २०७९, आइतबार

गणतन्त्रकी महारानीबाट टीका-जमरा!

  • १९ असोज २०७९, बुधबार
Image

काठमाडौं- नेपालमा एकात्मक राजतन्त्र फालेर गणतन्त्र स्थापना गरेको दुई दशक हुनैलाग्दा पनि राजा र महारानी बन्‍ने सपना पालेकाहरुले नै गणतन्त्रको लगाम समातिरहेका छन्।

एउटा राजालाई फालेर सयौं राजा र महारानीहरुलाई नेपाली राजनीतिले पालितपोषित गरिरहेको छ। जुन दसैंजस्ता चाडपर्वमा उनीहरुको राजसी शैली र जनतामाथि गर्ने हुकुहरुले थप स्पष्ट हुन्छ। 

गणतन्त्रकी महारानी 'राष्ट्रपति' विद्यादेवी भण्डारीले यस वर्ष पनि एक फर्मान जारी गर्दै 'राष्ट्रपतिको हातबाट दशैंको टीका ग्रहणका लागि' आह्वान गरेकी छन्। जुन विगतमा राजाहरुले गर्ने गरेका थिए।

राजाहरुले आफ्ना नोकर-चाकरलगायतलाई बोलाएर आफू ठूलो भन्‍ने देखाउनका लागि यस्तो परम्परा सुरु गरेका थिए। नोकर-चाकरहरुले पनि आफू राजा निकट छु भन्‍ने देखाउनका लागि यस्तो अवसरमा राजाको हातबाट टीका थाप्‍ने गरेका थिए। 

त्यस्तो राजतन्त्र खराब भएको भन्दै सडक आन्दोलन गरेकी राष्ट्रपतिले नै महारानीको शैलीमा फर्मान जारी गर्दै टीकाका लागि खुला आह्वान गरिन्। 

राजतन्त्रकालमा चलेको प्रथाको भद्दा नक्कल गणतन्त्रले गरिरहेको छ। राजतन्त्रकालमा राजा मालिक थिए, प्रजा दास। राजा भगवान विष्णुका अवतार थिए, प्रजा उनको भक्तिगान गाउने, उनीसँग याचना गर्ने भक्तजन।

भगवानरूपी राजालाई खुसी पारेर वरदान स्वरूप अनेक कुरा प्राप्त गर्ने अभिलाषा भक्तजनका मनमा हुने नै भए। ‘राजाले दिएको तेल खास्टोमा भए पनि थाप्नुपर्छ’ भन्ने उखान नेपाली समाजमा चलेकै छ।

‘राजाले कृपा गरेर जे दिन्छन् त्यो जुनसुकै परिस्थितिमा पनि ग्रहण गर्नुपर्छ। जति दिन्छन् त्यसलाई आफ्नो भाग्य सम्झेर खुसी हुनुपर्छ’ यही मनोवृत्तिका साथ हुर्किएको समाज हो, यो।

अलि पहिले त झन् जनताको करबाट भरिएको राज्यको ढुकुटी राजाको व्यक्तिगत सम्पत्ति बराबर थियो। त्यो ढुकुटीबाट राजा र उनका कारिन्दाले कृपाले जे–जति दिन्थे, त्यही नै थियो जनताले पाउने। सरकार पनि जनताको होइन राजाको हुन्थ्यो।

सरकार मातहतका कर्मचारीहरू जनताले तिरेको करबाटै तलब भत्ता खान्थे तर आफूलाई राजाको नुन खाएका छौं भन्थे। उनीहरू सर्वसाधारण जनतामाथि हैकम जमाउँथे। राजाको भक्तिगान गाउँथे। माथिल्लो तहका व्यक्तिको चाकडी गर्थे।

भगवानरूपी त्यो पदमा पुग्न उनीहरूले जन्मसिद्ध अधिकार पाएका थिए। उनीहरूले गरेका काममा प्रश्न उठाउने अधिकार कसैलाई थिएन।

राजा नियम, कानुनभन्दा माथि थिए। राजाका ठाउँमा राष्ट्रपति आए। राष्ट्रपति कार्यपालिकाको सर्वोच्च पद भए पनि राजाजस्तो जन्मसिद्ध पद होइन। जनताका प्रतिनिधिले चुनेका साधारण मान्छे त्यो पदमा पुग्ने हो।

उनीहरू जनताका मालिक नभएर प्रतिनिधि मात्रै हुन्। तर गणतन्त्रले जनतालाई त्यो अनुभूति गर्न दिएको छैन। नारायणहिटीका राजा शीतलनिवास सरेको र शीतल निवासमा गणतन्त्रकी महारानीबाट टीका थाप्‍नका लागि हानाथप चलिरहेको दृष्यले गणतन्त्रलाई नै लज्जित बनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर