१० असार २०८१, आइतबार

संविधान उल्लंघन गर्ने राष्ट्रपतिविरुद्ध परेको रिटमा आज सुनुवाई

  • ७ असोज २०७९, शुक्रबार
Image

काठमाडौं- काठमाडौं- नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान उल्लंघन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध परेका रिटको सुनुवाई आज हुने भएको छ। 

नागरिकता विधेयक प्रमाणीकरण गराउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको पेसी आज (शुक्रबार) का लागि तोकिएको छ। 

संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अदालतमा छुट्टाछुट्टै रिट परेको थियो। सो रिटको पेसी आजलाई तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए। 

पाँचवटै रिट सर्वोच्च प्रशासनले बिहीबार नै दर्ता गरिसकेको छ। अधिवक्ताहरु सुनिलरञ्जन सिंह, सागर बराललगायतले रिट दायर गरेका हुन्।

राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको बरखिलाफ भएको रिटमा उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।

राष्ट्रपतिले संसद्बाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आलोचना सुरु भएको छ। सत्ता गठबन्धन निकट संगठनहरु राष्ट्रपतिको विरोधमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संगठनहरुले राष्ट्रपतिको कदमको प्रंशसा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर